जोखिमपूर्ण बस्तीबाट विस्थापित भएकालाई स्वास्थ्य शिविर सञ्चालन

बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूका लागि सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ। जसमा बालरोग, स्त्रीरोग, दन्त उपचार र मनोसामाजिक परामर्श उपलब्ध गराइएको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ ।

​यी सेवाहरू शुक्रराज ट्रपिकल (नेतृत्वदायी भूमिका), कान्ति बाल अस्पताल, परोपकार प्रसुती गृह, र पाटन मानसिक अस्पतालका विशेषज्ञ टोलीहरूले दिइरहेका छन् । उपचार प्रक्रिया शिविरमै औषधी र परामर्श दिने तथा जटिल समस्या भएमा सरकारी अस्पतालमा ‘रेफर’ गर्ने व्यवस्था मिलाइएको छ ।

अहिले सम्म ६८ जनाले सेवा लिइसकेका छन् । बसोबास गुमाउँदा हुन सक्ने मनोसामाजिक तनाव र अन्य संक्रमणलाई ध्यानमा राख्दै पाटन मानसिक अस्पतालको टोलीले परामर्श सेवा दिइरहेको बताइएको छ ।

​साथै कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको नेतृत्वमा अर्को शिविर सञ्चालन भइरहेको छ, जहाँ आँखा र दाँतको उपचार गरिएको छ । ​काठमाडौं महानगरपालिका र स्वास्थ्य सेवा विभागसँगको समन्वयमा पर्याप्त जनशक्ति र औषधीको व्यवस्था गरिएको जानकारी दिएको छ ।