प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट मुक्त बनाउन सरकारले अध्यादेशमार्फत् कठोर कदम चालेको बताएका छन् ।
वर्षौंदेखि जकडिएको दलीय भागबन्डा र झोला बोक्ने प्रवृत्तिका कारण देशको प्रणाली नै ध्वस्त भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अब योग्यता र क्षमतालाई मात्रै प्राथमिकता दिइने स्पष्ट पारेका हुन्।सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विद्यार्थी र कर्मचारीतन्त्रमा भएको पार्टीकरणले देशलाई निकै ठूलो क्षति पुर्याएको बताएका छन्।
उनले विगतमा धेरै संगठनहरू विद्यार्थी र कर्मचारीको हितमा काम गर्नुभन्दा पनि राजनीतिक दलका स्लिपर सेलका रूपमा मात्रै सक्रिय रहेको टिप्पणी गरे। ‘योग्यताभन्दा पहुँच र क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइयो, जसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो,’प्रधानमन्त्रीले लेखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने निर्णय संगठन बनाउन नसकेर नभई भविष्य सुधार्न गरेको उनको तर्क छ। चाहने हो भने आजकै दिनमा ठूला संगठन बनाउन सकिने भए पनि अर्को दलीय संगठन थप्दैमा शिक्षाको गुणस्तर नबढ्ने र कर्मचारीको सम्मान नजोगिने कुरा विगतका अनुभवले पुष्टि गरिसकेको उनले उल्लेख गरेका छन् ।


















