हर्क साम्पाङले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर सरकारमाथि तीव्र आलोचना गरेका छन् । शुक्रबार जारी विज्ञप्तिमार्फत उनले संसद् छल्दै राष्ट्रप्रमुखमाथि दबाब सिर्जना गरेर अध्यादेश ल्याइएको तथा न्यायपालिकाको वरिष्ठता क्रम मिचेर चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
साम्पाङले विधि र प्रक्रियालाई बेवास्ता गर्दै गरिएको निर्णयलाई “सरकारको ठूलो गल्ती” को संज्ञा दिएका छन् । उनका अनुसार सुशासन र प्रणाली सुधारको वाचा गरेर सत्तामा पुगेको पक्षबाट नै यस्तो कदम चालिनु गम्भीर विषय हो । उनले नियुक्ति प्रक्रियामाथि राजनीतिक तथा कानुनी स्वार्थ जोडिएको आशंका पनि व्यक्त गरेका छन्। सहकारी ठगी प्रकरण तथा भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी मुद्दामा अदालतबाट अनुकूल निर्णय गराउने उद्देश्य हुन सक्ने दाबी उनको छ।
विज्ञप्तिमा नियुक्तिसम्बन्धी छलफलका क्रममा एमसीसी र एसपीपी जस्ता विषयलाई समेत प्रभाव सिर्जना गर्न प्रयोग गरिएको आरोप लगाइएको छ । साम्पाङले आफ्नै दलबाट निर्वाचित रुबीकुमारी ठाकुर ले पनि उक्त निर्णयमा हस्ताक्षर गरेकोप्रति असन्तुष्टि जनाएका छन्। उनले वरिष्ठताको परम्परा उल्लंघन भएको निर्णयमा समर्थन जनाइनु खेदजनक भएको बताएका छन् । श्रम संस्कृति पार्टीले विधि, प्रक्रिया र संवैधानिक मूल्यविपरीत हुने कुनै पनि कदमको निरन्तर विरोध गर्ने स्पष्ट पारेको छ।


















