तमिलगा वेत्री कझगम (टीभीके) का अध्यक्ष जोसेफ विजय थलापतिले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका छन् । तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले आइतबार विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शनिबार २३४ सदस्यीय विधानसभामध्ये १२० निर्वाचित विधायकहरूको समर्थन पाएपछि विजयलाई सरकार गठनका लागि आमन्त्रण गरिएको थियो । विजयले बिहान १० बजेपछि चेन्नईको नेहरु स्टेडियममा शपथ लिएका थिए । उनीसँगै टीभीकेका केही वरिष्ठ नेतासहित अन्य नौ जनाले पनि मन्त्री पदको शपथ लिएका छन् ।
विजयले इण्डियन नेशनल कंग्रेसको सहयोगमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । यससँगै राज्यमा करिब छ दशकदेखि जारी दुई प्रमुख द्रविड दल द्रबिड मुन्द्रि कझगम (डीएमके)र अल इण्डिया द्रबिड मुन्द्रि कझगम (एआइएडीएमके) बीच पालैपालो सत्ता सञ्चालन हुने परम्पराको अन्त्य भएको छ ।


















