श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको हालैको अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै त्यसले राष्ट्रिय हितविपरीत मनसाय झल्काएको आरोप लगाएको छ।
सोमबार जारी विज्ञप्तिमा पार्टी अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा दिएको भनिएको अभिव्यक्तिले नेपालको सीमा विवादसम्बन्धी स्थापित अडानलाई कमजोर बनाउने संकेत गरेको बताएका छन्। साम्पाङले प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट “नेपालले भारतको भूमि विभिन्न स्थानमा मिचेको छ” भन्ने आशयको अभिव्यक्ति दिएको दाबी गर्दै यसले नेपालले उठाउँदै आएको लिपुलेक–लिम्पियाधुरा लगायतका क्षेत्रको विषय ओझेलमा पार्न खोजिएको सन्देश दिएको उल्लेख गरेका छन्। उनले उक्त अभिव्यक्तिको समय र उद्देश्यबारे समेत प्रश्न उठाउँदै यसको राजनीतिक तथा कूटनीतिक प्रभावबारे स्पष्टता आवश्यक रहेको बताएका छन्। विज्ञप्तिमा प्रतिनिधिसभाको जेठ १७ गतेको बैठकमा प्रधानमन्त्रीलाई पूर्वनिर्धारित कार्यसूचीबिना बोलाइएको आरोप पनि लगाइएको छ। साथै, प्रधानमन्त्रीको भनाइले अन्तर्राष्ट्रिय समुदायमा नेपालको सीमा सम्बन्धी आधिकारिक धारणा र अवस्थाबारे अन्योल सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
साम्पाङले सीमा सुरक्षाको विषयमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सीमाक्षेत्रमा आवश्यक निगरानी र उपस्थिति सुनिश्चित गर्न नसकेको दाबी गरेका छन्। उनले सरकार र प्रधानमन्त्री भौगोलिक अखण्डता तथा राष्ट्रिय सुरक्षाप्रति स्पष्ट रूपमा प्रतिबद्ध देखिन नसकेको टिप्पणी गरेका छन्। श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारबाट औपचारिक स्पष्टीकरण आउनुपर्ने माग समेत गरेको छ।



















