काठमाडौँमा सोमबार नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल-भारत सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै प्रदर्शन गरेको छ। प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमानमा आघात पुगेको दाबी गर्दै एमाले काठमाडौँ जिल्ला कमिटीले माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गरेको हो। प्रदर्शनका क्रममा सहभागीहरूले “राष्ट्रविरोधी अभिव्यक्ति बन्द गर”, “नेपालको सीमा रक्षा गर” लगायतका नारासहित प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गरेका थिए। उनीहरूले प्रधानमन्त्रीले राष्ट्रिय हितविपरीत अभिव्यक्ति दिएको आरोप लगाउँदै राजीनामासमेत माग गरेका छन्।
कार्यक्रममा बोल्दै आनन्दप्रसाद पोखरेल ले नेपालले कुनै पनि भारतीय भूमि अतिक्रमण नगरेको जिकिर गरे। उनले प्रधानमन्त्रीलाई नेपालको सीमा र संविधानमा समेटिएको चुच्चे नक्साबारे पर्याप्त जानकारी नभएको टिप्पणी गर्दै उक्त अभिव्यक्तिले नेपालको आधिकारिक नक्सामाथि नै प्रश्न उठाएको बताए।एमालेले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता नलिएसम्म र अभिव्यक्ति नसच्याएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी समेत दिएको छ। पार्टीका नेताहरूले राष्ट्रियता र सीमासम्बन्धी विषयमा जिम्मेवार अभिव्यक्ति दिन सरकार प्रमुखलाई आग्रह गरेका छन्।


















