इजरायली सेनाको गोली लागेर वेस्ट बैंकको हेब्रोन सहरमा एक सात महिनाका प्यालेस्टाइनी शिशुको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार साँझ हेब्रोन सहरको दक्षिणमा पर्ने तेल रुमेइदा क्षेत्रमा यो घटना भएको हो। स्वास्थ्य मन्त्रालयले मृतक शिशुको पहिचान साम फहद अबु हैकलका रूपमा गरेको छ।
गोली लागेर शिशुको घटनास्थलमै मृत्यु भएको थियो भने उनका आमाबुबालाई मध्यम प्रकृतिको चोट लागेको छ।शिशुकी हजुरआमाका अनुसार उनको परिवार चेकिङ प्वाइन्ट १७ नजिकै गाडी चलाएर जाँदै गर्दा केही दूरीमा इजरायली सैन्य गाडी र सैनिकहरू देखेपछि उनीहरूले गाडी रोकेका थिए। गाडी रोकेकै अवस्थामा सैनिकहरूले उनीहरूको दिशातिर गोली चलाएका थिए, जसलाई सुरुमा परिवारले चेतावनीका लागि चलाइएको गोली ठानेका थिए।
यस विषयमा इजरायली सेनाले शुक्रबार हेब्रोन क्षेत्रमा सैन्य अपरेसनका क्रममा सैनिकहरूले एउटा गाडी तीव्र गतिमा आफूतिर आउँदै गरेको देखेको दाबी गरेको छ। गाडी तीव्र गतिमा आएपछि आत्मरक्षाका लागि भन्दै एक सैनिकले उक्त सवारी साधनलाई लक्षित गरी गोली चलाएको सेनाको भनाइ छ।


















