भारतीय बजारमा नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण पूर्वी नेपालका चिया उद्योगहरू गम्भीर संकटमा परेका छन्। निर्यात पूर्ण रूपमा प्रभावित भएपछि इलाम र झापाका दर्जनौं उद्योग तथा चिया बगानहरू बन्द हुन थालेका छन्। नेपाल चिया उत्पादक संघका अनुसार असार १ गतेदेखि इलामका ५६ उद्योग बन्द भइसकेका छन् भने आजदेखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगानले पनि उत्पादन रोकेका छन्। उत्पादन गरिएको चिया गोदाममै थन्किएपछि र समस्या समाधानका लागि सरकारी तहबाट प्रभावकारी पहल नभएको भन्दै व्यवसायीहरूले उद्योग बन्द गर्ने निर्णय लिएका हुन्।
संघका अध्यक्ष आदित्य पराजुलीले भारतद्वारा सिर्जित अवरोध हटाउन पटक-पटक सरकारी निकायको ध्यानाकर्षण गराए पनि अपेक्षित प्रतिक्रिया नपाएको गुनासो गर्नुभयो। उहाँका अनुसार विगतमा यस्ता समस्या आउँदा सरकार सक्रिय हुने गरे पनि यसपटक व्यवसायीहरूले चरम बेवास्ता महसुस गरेका छन्। निर्यात ठप्प भएसँगै उद्योगका गोदामहरू तयारी चियाले भरिएका छन्। बिक्री नहुँदा उद्योग सञ्चालन खर्च धान्न कठिन भएको र मजदुर तथा कर्मचारीलाई तलब दिनसमेत समस्या परेको व्यवसायीहरूको भनाइ छ। संघले समस्या समाधान नभएसम्म बन्द कार्यक्रम जारी रहने चेतावनी दिएको छ। झापा नेपालकै सबैभन्दा ठूलो चिया उत्पादन क्षेत्र हो, जहाँ वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने गर्छ। त्यसमध्ये ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारत निर्यात हुने गरेको तथ्यांक छ। निर्यात अवरुद्ध हुँदा करिब ६० हजार श्रमिक, किसान र कर्मचारीको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ।
यसैबीच, प्रतिनिधिसभामा बोल्दै गौरीकुमारी ले नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गरिरहेको जानकारी दिएका छन्। साथै, चिया, अलैंची लगायत कृषि उपजको भण्डारण र बजारीकरण सुधार गर्न विशेष योजना अघि बढाइएको बताएका छन्।
















