जाग्यो बसपार्क बन्ने आशा

पोखरा बसपार्कको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरिएको छ । पोखरा महानगरपालिकाले पोखरा–९ पृथ्वीचोकस्थित बसपार्कको जग्गा मिचेर बनाइएका संरचना हटाउन थालेको हो ।

आधुनिक पोखरा बसपार्क निर्माणका लागि पोखरा उपत्यका नगर विकास समितिले पाँच दशकअघि उक्त जग्गा अधिग्रहण गरेको थियो । यसअघि महानगर र नगर विकास समितिले अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गरेको थियो । सोही सूचनाअनुसार खाली भएका घरटहरा र पसल हटाउन सुरु गरिएको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । “संरचना हटाएर बसपार्कको जग्गा खाली गर्ने र एकिन गर्ने काम सुरु भएको छ”, उनले भने, “जग्गाधनीको पनि कित्ता एकिन गरी व्यवस्थापन गर्छौँ ।”

बसपार्कका लागि २०३२ सालमा नगर विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेकामा अतिक्रमण गरी जथाभावी संरचना बन्न थालेपछि बसपार्कको खाली जग्गा २६ रोपनीमा मात्र सीमित भएको थियो । बसपार्कको उत्तरपट्टिका जग्गाधनीले संरचना हटाउने महानगरको तयारीविरुद्ध उच्च अदालत पोखरामा रिटसमेत दायर गरेका थिए । गत जेठ २५ गते महानगरसँग भएको सहमतिपछि जग्गाधनीले मुद्दा फिर्ता लिने र बसपार्क निर्माणमा सहजीकरण गर्ने निर्णय गरेका थिए । त्यसपछि बसपार्क क्षेत्रका अधिकांश व्यवसायी तथा घरधनीले आफ्ना संरचना खाली गरेका थिए ।

पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत अधिकांश संरचना खाली भइसकेका वडाध्यक्ष मर्सानीले बताए । बसपार्कको भित्री जग्गामा बनेका संरचना पनि खाली भएपछि महानगरले डोजर चलाएको उनको भनाइ छ । बसपार्कको जग्गामा बसोबास गर्दै आएका भूमिहीन दलित र सुकुम्वासी परिवारलाई भने अन्यत्र जग्गा व्यवस्थापन भएपछि मात्र त्यहाँबाट स्थानान्तरण गर्ने महानगरको योजना छ ।

बसपार्कको जग्गामा ५७२ भूमिहीन दलित र सुकुम्वासी परिवारको बसोबास छ । क्षेत्रमा पोखरा विमानस्थल निर्माणका क्रममा विस्थापित भएका परिवारसमेत बसपार्कको जग्गामा बस्दै आएका छन् । जग्गा अधिग्रहणका बेला सट्टा जग्गा लिएका पनि बसपार्क क्षेत्रमा छन् । बसपार्कभित्र बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको टोल सहजीकरण समितिका संयोजक असिम तामाङले सुकुम्बासीको उचित व्यवस्थापन भएमा आफू बसपार्कको जग्गा छोड्न तयार भएको बताए ।

महानगरले बसपार्कका सुकुम्बासी परिवारको स्थानान्तरणका लागि समिति गठन गरेर जग्गाको खोजी तथा पहिचान गर्ने काम सुरु गरिसकेको छ । पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा गठित समितिले महानगरका विभिन्न ६ स्थानमा जग्गा एकीन गरी महानगरलाई सिफारिस गरेको थियो । समितिले पेश गरेका केही जग्गामा प्राविधिक जटिलता देखिएकाले थप अध्ययन, परीक्षण तथा सिफारिसका लागि प्राविधिक समिति गठन गरी सो समितिलाई १० दिनको म्याद थप गरिएको महानगरले जनाएको छ ।

जग्गाको ‘प्लट’ निर्माणका लागि पनि प्राविधिक समिति बनाएर काम थालिएको छ । बसपार्क क्षेत्रमा लालपुर्जा भएका जग्गाधनीको वितरण प्रक्रिया तथा क्षेत्रफल एकिन गरी सिफारिस गर्न गठित न्यायिक निरूपण समितिले छानबिन र अध्ययनको काम गरिरहेको महानगर प्रमुख धनराज आचार्यले बताए । सुकुम्बासी परिवारको व्यवस्थापन तथा उचित पुनस्र्थापनाको सुनिश्चिततासहित आवश्यक प्रक्रिया अगाडि बढेको उनको भनाइ छ ।

“उत्तरतर्फबाट बसपार्कको जग्गा खाली गर्ने र व्यवस्थापन गर्ने काम सुरु भएको छ”, प्रमुख आचार्यले भन्नुभयो, “हामी सबैको साझा लक्ष्य आधुनिक र व्यवस्थित पोखरा बसपार्क निर्माण गर्नु हो, यसमा सबै पक्षको सहयोग रहनेमा महानगर विश्वस्त छ ।”

बसपार्क समस्या सहजीकरण समितिसँगको समन्वय र सहकार्यमा संरचना हटाउने काम भइरहेको उनको भनाइ छ । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादकोसमेत छानबिन गर्ने काम भइरहेको प्रमुख आचार्यले बताए ।

पोखरा उपत्यका नगर विकास समितिले सुरुमा अधिग्रहण गरेको २०५ रोपनीमध्ये पृथ्वी राजमार्गको निर्माणपछि कायम भएको १८७ रोपनी जग्गामै बसपार्क बनाउनुपर्ने माग उठ्दै आएको छ । समयमा बसपार्क नबन्दा अधिग्रहण गरिएको जग्गा अतिक्रमण परेको थियो । अतिक्रमति संरचना हटाउन थालिएपछि आधुनिक पोखरा बसपार्क निर्माणको योजना अगाडि बढ्नेमा आशा जागेको छ ।

महानगरपालिकाले बसपार्क निर्माणलाई प्राथमिकतामा राख्दै दातृ निकायमार्फत आवश्यक बजेट सुनिश्चित गरेको छ । पर्यटनका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको पोखरामा स्तरीय बसपार्क बन्न नसकेकामा यातायात र पर्यटन व्यवसायीको दु:खेसो छ । बसपार्क नबन्दा ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिएको छ । तीव्र सहरीकरण र सवारीसाधनको चापलाई दृष्गिगत गरेर पोखरामा आधुनिक सुविधायुक्त बसपार्क बनाउनुपर्ने आवाज उठ्दै आएको छ ।