असार काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मकालु–बरुण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मकालु बेस क्याम्प ट्रेकको विस्तृत यात्रा तालिका सार्वजनिक गरेका छन् ।
उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो अपलोड गर्दै १७ दिनको मकालु बेस क्याम्प ट्रेकको विस्तृत यात्रा तालिका सार्वजनिक गरेका हुन् ।प्रधानमन्त्री बालेनले फेसबुममा मकालु–बरुण उपत्यकालाई पूर्वी नेपालको आकर्षक हिमाली गन्तव्यका रूपमा चित्रण गरेका छन् ।
उक्त क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा हिमाली दृश्यावलोकनका दृष्टिले नेपालको महत्वपूर्ण पर्यटकीय सम्पत्ति भएको पनि उनले उल्लेख गरेका छन् ।
सार्वजनिक तालिकमा ट्रेकको सुरुवात काठमाडौंबाट तुम्लिङटार हुँदै नुमबाट पदयात्रा सुरु हुने र ४ हजार ८७० मिटर उचाइमा रहेको मकालु बेस क्याम्पसम्म पुगिने उल्लेख छ ।
प्रधानमन्त्रीले मकालु–बरुण राष्ट्रिय निकुञ्ज, बरुण उपत्यका, शिवधारा झरना, लाङ्माले खर्क तथा मकालु बेस क्याम्पका मनोरम दृश्यहरू स्टाटसमार्फत प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई उक्त क्षेत्र भ्रमण गर्न आग्रह गरेका छन् ।
उनले ट्रेकलाई चुनौतीपूर्ण भए पनि नेपालको सबैभन्दा आकर्षक र कम भीडभाड हुने हिमाली पदमार्गका रूपमा वर्णन गरेका छन् । उनले वसन्त (मार्च–मे) र शरद् (सेप्टेम्बर–नोभेम्बर) ऋतुलाई ट्रेकका लागि उपयुक्त समय बताएका छन् ।


















