पार्टी परिवर्तनले मात्रै समाधान नदिने निष्कर्षमा जनता पुग्दैछन् : आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनताका अपेक्षा र प्रतिबद्धताअनुसार काम गर्न प्रतिपक्षी दलहरूले निरन्तर दबाब र खबरदारी गरिरहेको बताएका छन्। इलाम नगरपालिकाको नगर सभालाई सम्बोधन गर्दै आङ्देम्बेले प्रतिपक्षको भूमिका केवल सरकारको विरोध गर्ने नभई सरकारलाई उत्तरदायी, पारदर्शी र जनमुखी बनाउन सचेत गराउने रहेको स्पष्ट पारे।उनले संसदभित्र उठाइने प्रतिपक्षका आवाजहरू जनताका वास्तविक मुद्दा र सरोकारसँग जोडिएको उल्लेख गर्दै किसानहरू भोगिरहेका समस्या र त्यसले अर्थतन्त्रमा पारिरहेको असरप्रति सरकार पर्याप्त संवेदनशील नभएको टिप्पणी गरे। “देशभरका किसानहरू समस्यामा छन्। यसले अर्थतन्त्रलाई गम्भीर चुनौतीतर्फ धकेलिरहेको छ। तर राज्यको संवेदनशीलता अझै अपेक्षाअनुसार देखिएको छैन,” उनले भने।

आङ्देम्बेका अनुसार ठूलो जनमतबाट बनेको सरकारले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्छ र त्यसतर्फ सचेत गराउने दायित्व प्रतिपक्षको हो। “संसदभित्र प्रतिपक्षले उठाउने आवाज वास्तवमा जनताको आवाज हो,” उनले जोड दिए। उनले पछिल्लो समय सरकारप्रति नागरिक असन्तुष्टि बढ्दै गएको दाबी गर्दै मत परिवर्तन र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणले पनि अपेक्षित परिणाम दिन नसकेको अनुभूति जनतामा बढ्न थालेको बताए। “पार्टी परिवर्तन मात्र समाधान होइन भन्ने निष्कर्षमा नागरिकहरू पुग्न थालेका छन्,” उनले भने।

विगतमा राजनीतिक दलहरूले जनताको विश्वास जोगाउन नसक्दा नयाँ दलहरूप्रति आकर्षण बढेको स्वीकार गर्दै उनले जनमतको सम्मान नगर्दा नै नागरिकहरूमा निराशा र आक्रोश बढेको धारणा राखे।कांग्रेस सरकारको विरोधका लागि मात्र विरोध गर्ने पक्षमा नरहेको उल्लेख गर्दै उनले सत्ता र प्रतिपक्ष दुवैले जनअपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए। उनले संसदमा आफूले व्यक्त गरेका धारणा र कांग्रेस सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा व्यक्त गरेको सन्देशको मूल भाव एउटै रहेको पनि बताए।