रास्वपाको बन्द सत्र आजका लागि स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत बन्द सत्र आजका लागि स्थगित भएको छ।

महाधिवेशन प्रतिनिधिको नामावलीमा थपघट, मधेस प्रदेशमा देखिएको विवाद तथा प्रारम्भिक नामावलीमाथि परेको दाबी–विरोधको छानबिन नसकिएकाले बन्द सत्र सुरु हुन सकेन। प्रदेश सभापति र केही नेताले आफूखुसी नाम समावेश गरेको तथा पालिकाबाट आएका प्रतिनिधिको नाम छुटेको भन्दै उजुरी परेको थियो।

रास्वपा स्रोतका अनुसार विवादका विषय टुंग्याएर मात्र बन्द सत्र सञ्चालन गर्ने तयारी गरिएको छ। बिहानैदेखि प्रतिनिधिहरू हलमा पुगे पनि दिनभरको प्रतीक्षापछि अन्तिम समयमा आजका सबै कार्यक्रम स्थगित गरिएको हो।