नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनमा दिगो र सिद्धान्तनिष्ठ एकताको आवश्यकता औँल्याउँदै भावनात्मक र संगठनात्मक आधार बलियो बनाएर मात्र एकीकरण सफल हुने बताएका छन् ।
मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले मिल्न सकिने विषयमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखे। उनले कम्युनिस्ट एकता केवल घोषणा गरेर सम्भव नहुने, त्यसका लागि मन, भावना, सिद्धान्त र संगठनात्मक अनुशासनमा समानता आवश्यक पर्ने बताए।
‘मिलेको विषयमा मिलेर अगाडि बढ्ने हो। मन मिल्दै गयो, भावना मिल्यो भने एकताबद्ध हुने हो। आज मिलेको छ, भोलि फुटेको छ भन्ने होइन। बलियो एकता हुनुपर्छ, सिद्धान्तनिष्ठ एकता हुनुपर्छ, विधि–पद्धतिमा दह्रो हुनुपर्छ,’नेपालले भने।



















