विगतमा आफूविरुद्ध सम्पत्ति शुद्धीकरणको हतियार चलाउन खोजिएको वाग्लेको दाबी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू विरुद्ध विगतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन खोजिएको खुलासा गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले भने, “कोही मान्छे मन परेन सम्पत्ति शुद्धीकरण लगाइदिए। हाम्रै पार्टीका सभापति माथि पनि यो हतियार चलाइएको हो, म विरुद्ध पनि हतियार यो चलाउन खोजियो- अहिलेका कर्मचारीहरूले भन्छन्।” वाग्लेले कुनै व्यक्तिको जीवनशैली वा सम्पत्तिकै आधारमा मात्रै सम्पत्ति शुद्धीकरणको कानुन आकर्षित गर्न नहुने बताए। सम्पत्ति शुद्धीकरणलाई दोस्रो तहको कसुर भन्दै उनले त्यसअघि प्राथमिक अपराध पुष्टि हुनुपर्ने बताए।
“कसैले धन धेरै कमायो, कसैले घर ठड्यायो, अलि तडकभडक जीवनशैली अपनायो भन्दैमा सम्पत्ति शुद्धीकरण लगाउने होइन। सम्पत्ति शुद्धीकरण दोस्रो तहमा आकर्षित हुने विषय हो। पहिलो चरणमा हामीले त्यो सम्बद्ध कसुर इस्ट्याब्लिस गर्नुपर्छ,” उनले भने।

तस्करी वा भ्रष्टाचार जस्ता प्राथमिक अपराध स्थापित भएपछि मात्रै सम्पत्ति शुद्धीकरणको प्रक्रिया सुरु हुने वाग्लेको भनाइ थियो। उनले थपे, “कसैले तस्करी गर्यो, कसैले भ्रष्टाचार गर्यो इत्यादि भन्ने त्यो प्राइमरी अपराध स्थापित हुनुपर्यो र त्यो क्राइमबाट आर्जित जुन लाभ हुन्छ नि, त्यसलाई चाहिँ वैध बनाउनको लागि त्यो व्यक्तिले चालेका कदमहरू पछि बल्ल सम्पत्ति शुद्धीकरण आकर्षित हुन्छ।”

सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक प्रतिशोध साध्ने हतियारको रूपमा प्रयोग गर्न नहुने भन्दै वाग्लेले त्यस्तो कल्चरलाई सरकारले तोड्न खोजिरहेको बताए।