अब कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो–भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गरेको छ।

कर्मचारीको आचरणलाई निष्पक्ष, अनुशासित, सदाचारयुक्त र मर्यादित बनाउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आचारसंहिता जारी गरिएको मन्त्रालयले जनाएको छ।मन्त्री प्रतिभा रावलको निर्णयबाट असार १६ गते स्वीकृत भएको आचारसंहिता असार २२ गतेदेखि कार्यान्वयनमा ल्याइएको हो।

यसलाई सबै महाशाखा तथा मातहतका निकायमा लागू गर्न निर्देशनसमेत दिइएको छ।नयाँ आचारसंहिताले कर्मचारीहरूको सामाजिक सञ्जाल प्रयोगमा विशेष कडाइ गरेको छ।

कार्यालय समयमा, कार्यालय परिसर वा फिल्डमा खटिएको अवस्थामा सरकारी पोसाकमा खिचिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्न नपाइने व्यवस्था गरिएको छ। तर, शिक्षामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो नियम लागू नहुने आचारसंहितामा लेखिएको छ ।