खोटाङमा एक कैदीको मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका निसान राईको मृत्यु भएको हो ।
असार ३० गते बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएपछि उनलाई राति १ः५० बजे अस्पताल पुर्याइएको थियो तर अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो । अस्पताल पुर्याउँदा कैदीलाई मृत्यु भइसकेको अवस्थामा पाइएको डाक्टरले बताएका छन् ।
उनको मृत्युको कारण खुलेको छैन । राई खाना खाएपछि १२ः४५ बजेको ‘वर्ल्डकप गेम हेर्न’ उठाउनु है भन्दै सुतेका थिए । वर्ल्डकप सुरु भएपछि उठाउँदा उनी बेहोस अवस्थामा भेटिएका थिए ।
बेहोस अवस्थामा भेटिएको जानकारी आएपछि उनलाई अस्पताल लगिएको सूचना अधिकारी कठायतले बताए । चालकको रुपमा कार्यरत राई सवारी ज्यान मुद्दामा दुई वर्षका लागि जेल परेका थिए । जरिवाना तिरेको खण्डमा उनी आगामी साउन ११ गते जेलमुक्त हुँदै थिए ।


















