बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन

मकवानपुर । बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।

कांग्रेस एमाले सत्ता गठबन्धनमा दरार पैदा भएपछि आफूले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन गरेको उनले बताए । मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई राजीनामा बुझाउने उनको भनाई छ ।

‘अहिलेको बदलिएको सत्ता राजनीतिको परिस्थितिमा कांग्रेस गठबन्धनमा रहन नचाहेको बुझियो । प्रस्तुत अवस्थामा एमाले गठबन्धनमा जबरजस्त बसिरहन नपर्ने निष्कर्ष सहित मन्त्री मन्त्रीहरूलाई निर्देशन दिएको हो’ उनले भने ।

बागमती सरकारमा एमालेका ६ जना मन्त्री रहेका छन् । मुख्यमन्त्री बानियाँको नेतृत्वमा हाल प्रदेशमा रहेका १४ मन्त्रालयलाई ८ कायम गरिएको छ । साउन १ गतेबाट उक्त निर्णय कार्यान्वयन गर्दै ८ मन्त्रीलाई जिम्मेवारी दिएको छ भने ६ मन्त्रीलाई विना विभागीय मन्त्रीका रूपमा राखेका छन् ।