नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरू प्रतिपक्षविहीन बन्न नहुने बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य-मान्यता र संविधानको मर्मलाई ख्याल गर्नुपर्नेमा जोड दिएका हुन् । शर्माले पछिल्लो समय प्रदेश सरकारहरूमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको स्वीकार गर्दै ती विषयमा आन्तरिक संवाद र अभ्यासहरू भइरहेको जानकारी दिए ।
कुनैपनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु नहुने काँग्रेसको स्पष्ट बटम लाइन रहेको र संविधान निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका दलहरूले प्रतिकूल परिस्थितिमा पनि यसको मूल मर्मलाई उल्लङ्घन गर्न नमिल्ने जिकिर गरे । प्रदेश सरकारहरूको फेरबदल र नयाँ सरकार गठनको प्रक्रियामा प्रतिपक्षको परिकल्पना अपरिहार्य रहेको उनको तर्क छ । लोकतान्त्रिक प्रणालीलाई जोगाउन आवश्यक परे नेपाली काँग्रेस आफू प्रतिपक्षमा बस्न तयार रहेको तर सबै मुख्य दलहरू एउटै सरकारमा ओत लाग्ने प्रवृत्ति उपयुक्त नहुने शर्माले स्पष्ट पारे ।उपसभापति शर्माले भने,‘प्रदेश सरकारहरूको बारेमा केही समस्याहरू देखिएका छन् । सरकारमा रहेका दलहरूबीच केही समस्या उत्पन्न भएका छन्। अब प्रदेश सरकारहरू कसरी चल्छन् वा कसरी नयाँ बन्छन् भन्ने विषयमा सार्वजनिक रूपमा धेरै टिप्पणी गर्नुभन्दा आन्तरिक रूपमा अभ्यास, संवाद र छलफल भइरहेका छन् ।
हामी एउटा कुरामा भने स्पष्ट छौँ । कुनैपनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन । वर्तमान संविधान निर्माणका क्रममा महत्वपूर्ण भुमिका निर्वाह गरेका दलहरूले आजको प्रतिकूल परिस्थितिमा संविधान संशोधनबारे संवाद र छलफल चलिरहेका बेला संविधानको मूल मर्मलाई उल्लङ्घन गर्न मिल्दैन । त्यसैले प्रदेश सरकारहरूको सन्दर्भमा उत्पन्न भएको समस्याको एउटा मुख्य चुरो यही विषयसँग सम्बन्धित छ । प्रदेश सरकार गठन वा फेरबदल हुँदा प्रतिपक्षविहीन प्रदेशको परिकल्पना नगरी हामी निष्कर्षमा पुग्न चाहन्छौँ । त्यसका लागि आवश्यक परे नेपाली काँग्रेस पार्टी बरु प्रतिपक्षमा बस्न पनि तत्पर हुन्छ । तर नागरिकको अभिमत र निर्वाचनको मर्मलाई बेवास्ता गर्दै, नागरिकको पछिल्लो मनोविज्ञानभन्दा बाहिर गएर सबै मुख्य दलहरू एउटै सरकारमा अटेर बस्नुपर्छ भन्ने मान्यता हामी राख्दैनौँ । त्यसैले अहिले उत्पन्न भएको विषयको सार यही हो र यसलाई पनि हामी संवादमार्फत समाधान गर्नेछौँ । नेपाली काँग्रेस पार्टीले जे चाहन्छ त्यही हुन्छ भन्ने होइन । अन्य सबै राजनीतिक दलहरूको आत्मसम्मान र सहअस्तित्वलाई पनि सम्मान गर्दै संवादमार्फत समाधान खोजेर हामी प्रदेश सरकारहरूको विषयमा पनि टुङ्गोमा पुग्नेछौँ ।’
उनले प्रदेशमा देखिएका वर्तमान समस्याहरूलाई राजनीतिक संवादमार्फत हल गरिने बताए । नेपाली काँग्रेसले मात्र चाहेर सबै कुरा नहुने उल्लेख गर्दै उनले अन्य राजनीतिक दलहरूको आत्मसम्मान र सहअस्तित्वलाई स्वीकार गर्दै साझा सहमतिको आधारमा प्रदेश सरकारबारे अन्तिम टुङ्गोमा पुगिने जानकारी दिएका छन् ।


















