प्रधानमन्त्री मोदीले छाडे संसद् भवन, दिल्लीमा सुरक्षा व्यवस्था अत्यन्त कडा

संसदतर्फको मार्चका क्रममा जारी तनावबीच ककरोच जनता पार्टी (सीजेपी) का प्रतिनिधिले सोमबार केन्द्रीय मन्त्री जेपी नड्डासँग भेटवार्ता गर्दै तीन बुँदे माग प्रस्तुत गरेका छन्। सीजेपीका प्रवक्ता आशुतोष रांकाका अनुसार सरकारको पहलपछि नड्डाको निवासमा करिब १० मिनेट छलफल भएको हो।

छलफलमा उनीहरूले सोनम वाङचुकको तत्काल रिहाइ, केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र आत्महत्या गरेका सबै नीट परीक्षार्थीका परिवारलाई १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका छन्। नड्डाले यी मागबारे पार्टी नेतृत्वसँग छलफल गर्ने बताएका छन्।

अर्कातिर संसद्को मनसुन अधिवेशन जारी रहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदी संसद् भवनबाट बाहिरिएका छन् । संसद् भवन बाहिर ककरोच जनता पार्टी (सीजेपी) को संसद मार्चका क्रममा प्रदर्शन र तनाव भइरहेका बेला प्रधानमन्त्री मोदीको कारगेट कडा सुरक्षा व्यवस्थाबीच संसद परिसरबाट बाहिरिएको हो।

संसद् भवन वरपर ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ। प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार तथा लाठीचार्जका घटनापछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

यसैबीच जन्तरमन्तरमा एक महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेको सीजेपीले संसद्तर्फ अघि बढ्ने प्रयास गरेपछि राजधानी दिल्लीको सुरक्षा व्यवस्था कडा बनाइएको छ। जन्तर–मन्तर, रायसिना रोड, रफी मार्ग, कर्तव्य पथ र संसद क्षेत्रका विभिन्न स्थानमा ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ।

प्रहरीका अनुसार करिब ८ हजार प्रदर्शनकारी संसद मार्चमा सहभागी भएका थिए। प्रदर्शनस्थलमा तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्रा, अभिनेता प्रकाश राज, शबाना आजमी तथा आम आदमी पार्टीका नेताहरूले पनि ऐक्यबद्धता जनाएका छन्।

प्रदर्शनका क्रममा प्रहरीले व्यापक ब्यारेकेडिङ, लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको आरोप आन्दोलनकारीहरूले लगाएका छन्। दिल्ली विश्वविद्यालयकी एक विद्यार्थीले पीटीआईसँग कुरा गर्दै लाठीचार्ज र अश्रुग्यासको सामना गरे पनि आन्दोलनबाट पछि नहट्ने बताएकी छन्।