नेपाल-रुस सम्बन्धको ७० वर्ष: सहकार्य विस्तारमा वर्षमान पुनको जोड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल र रुसबीचको सात दशक लामो सम्बन्ध आपसी सम्मान, समानता र मित्रतामा आधारित रहेको बताएका छन्।

नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंस्थित रसियन कल्चर सेन्टरमा आयोजित फोटो प्रदर्शनी उद्घाटन गर्दै पुनले दुई देशबीच शिक्षा, विज्ञान–प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासमा भएको सहकार्यले सम्बन्ध थप मजबुत बनाएको बताए।उनले नेपालको विकासको प्रारम्भिक चरणमा पूर्वाधार निर्माण र औद्योगिकीकरणमा रुसले पुर्‍याएको सहयोग महत्त्वपूर्ण रहेको स्मरण गर्दै रुसमा अध्ययन गरेका नेपालीले विभिन्न क्षेत्रमा योगदान दिएको उल्लेख गरे। पुनले अब व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, शिक्षा, विज्ञान तथा प्रविधि र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताए।

उनका अनुसार नेपाल–रुस सम्बन्धको ७० वर्षे यात्रा विगतका उपलब्धि सम्झने मात्र नभई भविष्यको साझेदारीलाई अझ प्रभावकारी बनाउने अवसर पनि हो।