संघीयतापक्षधर तीन दलको प्रदेश सरकार बनाउने प्रस्ताव कांग्रेसले गर्‍यो अस्वीकार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले संघीयताको मर्म जोगाउन तीन दल मिलेर प्रदेश सरकार चलाउने पक्षमा नेकपा भएको बताएका छन् । दुईतिहाइ नजिकको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा खारेजीको बहस चलाएकोले प्रदेशको र संघीयताको मर्म जोगाउन नेकपाले तीन दल मिलेर प्रदेश चलाउन चाहेको दुलालले बताए ।

‘संघीयताको पक्षधर संविधानका तीन हस्ताक्षरकर्ता दलको साझा सरकार बनाएर प्रदेशको सान्दर्भिकता देखाऔँ भन्ने हाम्रो प्रस्ताव हो’, दुलालले भने, ‘यसमा नेपाली कांग्रेस तयार भएन ।’

नेकपा प्रदेश सरकार चलाउने पक्षमा नभएता पनि प्रदेशलाई लथालिंग छोडेर भाग्ने पक्षमा पनि नभएको दुलालले बताए । नेपाली कांग्रेस र नेकपाको गठबन्धनमा प्रदेश सरकार बन्न लागेको हो भन्ने प्रश्नमा दुलालले कतिपय त्यस्तो पनि प्रस्ताव आएता पनि प्रदेश तहमा त्यो खालको माहाैल नभएको बताए । भने, ‘गठबन्धन नै गर्ने हो भने वामपन्थी दलकै गरौँ भन्ने मत पनि देखिन्छ ।’

नेपाली कांग्रेस भने एमालेसँगको सहकार्यमा सकारात्मक नदेखिएको आफूले संकेत पाएको दुलालले बताए ।