दुर्भाग्यपूर्ण अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी सभापतिजीले लिनुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीमा दुर्भाग्यपूर्ण अवस्था आएमा सभापति गगन थापाले सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताएका छन् । बीपी स्मृति दिवसको अवसरमा इतर समूहले गरेको कार्यक्रममा उनले पार्टीभित्र एकताको लागि धेरै समय बितेको बताए ।

‘समय धेरै गुज्रिसकेको छ । कथंमकदाचित् सभापतिजिले छिट्टै पहल गर्नुभएन र दुर्भाग्यपूर्ण अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी सभापतिजीले लिनुपर्छ,’ कोइरालाले भने, ‘बीपीको विचारलाई सम्झनुस् । स्वार्थीपन छोडिदिनुस् । कसैको इसारामा नहिँड्नुस् ।’

उनले कांग्रेसले बीपीको प्रजातान्त्रिक समाजवाद छोड्न नसक्ने बताए । ‘नेपाली कांग्रेस भाग २ भनिएको छ । २.० भनिएको छ । त्यो भनेको के हो ? तपाईंहरूले कहिल्यै सोच्नुभयो, सोध्नुभयो ? हामीले पनि खोजेनौँ,’ कोइरालाले भने, ‘सभापतिजीले विशेष महाधिवेशनमा सामाजिक लोकतन्त्रको कुरा गर्नुभएको छ । बीपीको विचार प्रजातान्त्रिक समाजवाद हो । के कांग्रेसले प्रजातान्त्रलाई थाँती राख्यो ? सामाजिक लोकतन्त्र र प्रजातान्त्रिक समाजवाद भिन्न हो ? प्रजातान्त्रिक समाजवाद छोड्न हामी सक्दैनौँ ।’