सत्याग्रहमा रहेका प्राडा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना

९ साउन, धनगढी । २४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगिएको छ ।
केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि त्यहाँबाट अस्पताल लगिएको हो । धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नं. कोठामा अनशनरत केसीको शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले परीक्षण गरेका थिए ।
परीक्षणका क्रममा डा. केसीको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० रहेको पाइएको थियो । सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकले बताएका छन् ।
चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका थिए । सोही अनुसार उनलाई अस्पताल लगिएको हो ।