पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको निधन भएपछि बेलायती राजपरिवारका सदस्य राजकुमार विलियमले दुःख व्यक्त गरेका छन्।
प्रिन्स अफ वेल्स विलियमले सामाजिक सञ्जाल एक्समार्फत पुर्जालाई महान् पर्वतारोही र अद्वितीय व्यक्तिका रूपमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।उनले नेपाली पर्वतारोहीहरूलाई विश्वमञ्चमा चिनाउनुअघि पुर्जाले बेलायती विशेष सैन्य बलमा समेत विशिष्ट सेवा गरेको उल्लेख गरेका छन्।
राजकुमार विलियमले पुर्जाको साहस, विनम्रता र असम्भव देखिने लक्ष्य पछ्याउने क्षमताले उनलाई विशेष बनाएको भन्दै उनका परिवार र अन्य मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।


















