नेपाल र मंगोलियाबीच शिक्षा तथा खेलकुद, विशेषगरी विद्यालय तहमा चेस खेलको प्रवर्द्धनका लागि सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग सोमबार सिंहदरबारस्थित मन्त्रालयमा मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले शिष्टाचार भेट गर्दै दुई देशबीचको कूटनीतिक सम्बन्ध, साझा हित र भविष्यका सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान गरेका हुन्। भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र मंगोलियाबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध, समान भौगोलिक अवस्था तथा सांस्कृतिक निकटताको स्मरण गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
उनले शिक्षा र खेलकुद क्षेत्रमा, विशेषगरी विद्यालय तहमा चेस खेलको विकासका लागि मंगोलियन सरकार तथा मंगोलियन चेस फेडेरेशनसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए। नेपालले विद्यालय शिक्षामा खेलकुदलाई प्रभावकारी रूपमा समावेश गर्दै अघि बढिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाल चेस महासंघ र मंगोलियन चेस फेडेरेशनबीच सहकार्यको वातावरण निर्माण गर्न मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाए।
त्यसैगरी, पूर्वप्रधानमन्त्री जान्दानशातारले नेपाल र मंगोलियाबीचको लामो कूटनीतिक सम्बन्धसँगै दुवै देश भूपरिवेष्टित राष्ट्र भएकाले धेरै साझा अनुभव र सहकार्यका अवसर रहेको बताए। उनले चेसलाई केवल खेल नभई शिक्षाको प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै मंगोलियाले विद्यालय शिक्षामै चेसलाई समावेश गर्ने अभ्यासबाट उल्लेखनीय सफलता हासिल गरेको अनुभव सुनाए। उनका अनुसार चेसले विद्यार्थीमा समालोचनात्मक सोच, विश्लेषणात्मक क्षमता, निर्णय गर्ने सीप, समस्या समाधान गर्ने दक्षता तथा बौद्धिक विकास अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउँछ। यही अनुभव नेपालसँग पनि साझा गर्न तथा विद्यालय शिक्षामा चेस प्रवर्द्धनका लागि शिक्षा तथा खेलकुद मन्त्रालय र नेपाल चेस महासंघसँग सहकार्य गर्न मंगोलियन सरकार र मंगोलियन चेस फेडेरेशन पूर्ण रूपमा तयार रहेको उनले पुनः प्रतिबद्धता व्यक्त गरे।


















