काठमाडौँ । न्यूनतम पारिश्रमिक र श्रम शोषणको अन्त्यलगायतका १५ बुँदे माग राख्दै साउन १४ देखि आमरण अनसनमा बसेकी नर्स ज्योति रानाभाटको समर्थनमा काठमाडौँ उपत्यकाका नर्सहरूले प्रदर्शन गरेका छन्।
रानाभाटले उठाएका जायज माग पूरा गर्न आग्रह गर्दै आन्दोलनको छैटौँ दिनमा अन्य नर्सहरूले वीर अस्पताल परिसरमा प्लेकार्डसहित प्रदर्शन गर्दै ऐक्यबद्धता जनाएका हुन्।
साउन १४ गतेदेखि अनसनमा बसेकी नर्स रानाभाटको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ। उनलाई हाल वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरेर उपचार भइरहेको छ।
नेपालमा नर्सहरूको तलब, भत्ता, सेवा सुविधा र वृत्ति विकासमा देखिएका समस्या समाधान गर्न विगतमा सरकारसँग सम्झौता भए पनि कार्यान्वयन हुन सकेको छैन। सम्झौता पालना नहुँदा देशभरका नर्सहरू ठुलो अन्यायमा परेको प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले बताएका छन्।
नर्स रानाभाटको यो आन्दोलनलाई डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन अफ नेपाल, नेपाल पब्लिक हेल्थ एसोसिएसन, हेल्थ असिस्टेन्ट एसोसिएसन अफ नेपाल र नेपाल सीएमए सङ्घले समेत समर्थन र ऐक्यबद्धता जनाएका छन्।

















