वैदेशिक रोजगार विभागले नेपाली श्रमिकलाई भारतका विमानस्थलहुँदै वैदेशिक रोजगारीमा पठाउने ३९ म्यानपावरलाई कारबाही गरेको छ । विभागको अनुमति नलिई भारतका विमानस्थलहुँदै पटक–पटक श्रमिक पठाएको पाइएपछि ३९ म्यानपावर कम्पनीलाई ५० हजारका दरले जरिबाना गरिएको विभागले जनाएको छ ।
यसका साथै १२४ वटा म्यानपावर कम्पनीलाई भने विभागले मागेको विवरण उपलब्ध नगराएको भन्दै प्रत्येकलाई ५० हजारका दरले जरिवान गरेको छ ।विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ अनुसार म्यानपावरहरूले श्रमिकलाई विदेश पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरे नगरेको अनुगमन र अध्ययन गर्न १ चैत २०८२ देखि ३१ जेठ २०८३ सम्म आफूले पठाएका श्रमिकको विवरण माग गरेको थियो ।
तर, १२४ वटा म्यानपावरले विभागलाई विवरण नै उपलब्ध नगराएपछि उनीहरूलाई समेत कारबाही गरिएको हो । ऐनअनुसार नेपालबाट श्रमिक वैदेशिक रोजगारीमा पठाउँदा म्यानपावर कम्पनीले नेपालकै विमानस्थल प्रयोग गरी पठाउनपर्छ । कुनै कारणले नेपालबाट पठाउन सम्भव नभए विभागसँग कारण खुलाई भारतको विमानस्थलबाट पठाउने पूर्वअनुमति लिनुपर्छ ।

















