क्यास्पियन हुँदै इरानलाई रुसको सैन्य आपूर्ति

रुसले गोप्य मार्ग प्रयोग गरी इरानको सैन्य भण्डार मजबुत बनाउन सहयोग गरिरहेको छ । रुसले इरानलाई टीएनटी विस्फोटक पदार्थ, ड्रोनका पार्टपुर्जा तथा गोलाबारुद पठाइरहेको स्रोतले जनाएको छ । एक युरोपेली सरकारको दस्तावेजलाई उद्धृत गर्दै भू–उपग्रह तस्बिरहरूले ब्यालिस्टिक मिसाइल निर्माणका लागि आवश्यक केही पार्टपुर्जासमेत पठाइएको हुन सक्ने जनाइएको छ ।

अमेरिका र इजरायलसँगको हालैको युद्धका क्रममा इरानको सैन्य भण्डारमा उल्लेख्य कमी आएको थियो ।रुसले यसका लागि क्यास्पियन सागरको मार्ग प्रयोग गरिरहेको छ । क्यास्पियन सागरसँग रुस, इरान, काजाकिस्तान, तुर्कमेनिस्तान र अजरबैजानको सीमा जोडिएको छ ।

यो समुद्री मार्गले पश्चिमी देशहरूको निगरानीबाट जोगिन मद्दत पुर्‍याउने बताइएको छ । यहाँबाट गुड्ने जहाजले आफ्नो ट्रयाकिङ सिस्टम बन्द गर्न सक्ने भएकाले तिनको आवतजावत पत्ता लगाउन निकै कठिन हुने बताइएको छ ।

युक्रेन युद्धका क्रममा इरानले रुसलाई साहेदजस्ता ड्रोन उपलब्ध गराएको थियो । अहिले रुसले इरानको घटेको सैन्य भण्डार पुनः भर्न सहयोग गरिरहेको छ ।