हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले राज्यबाट कुनै सहयोग नपाएपछि फेरि मातृभूमि छाडेको बताएका छन् । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण भार र अधुरो सपनाका कारण उत्पन्न समस्या समाधानका लागि राज्यबाट कुनै सहयोग नपाएपछि देश छाड्न बाध्य भएको बताएका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘यो पटक त १०० हामीले न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठुलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ। दुई महिना अथक प्रयास गरेँ। राज्यका ढोका–ढोका पुगेँ। न्यायको आशामा राज्यलाई गुहारेँ। तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ। समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो। १८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु।’

















