सरकारले हालसम्म गरेको उद्धार र राहतको काम‘सन्तोषजनक’  ‘रास्वपा

 

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले भोटेकोसी नदीमा आएको बाढीपछिको खोजी, उद्धार र राहत कार्यमा सरकारको कामबारे समीक्षा भएको छ ।

बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकले भोटेकोशीमा आएको विनासकारी बाढी पछि सरकारले गरेको कामबारे समीक्षा भएको हो ।

 

बैठकमा सरकारमा प्रतिनिधित्व गर्ने अर्थमन्त्री एवं उपसभापति डा. स्वर्णिम वाग्ले, प्रधानमन्त्रीका सल्लाहकार एवं सहमहामन्त्री असिम शाह र उपसभापति एवं कानुन मन्त्री सोविता गौतमले हालसम्मको कार्य प्रगतिबारे ब्रिफिङ गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

खरेलका अनुसार ब्रिफिङका क्रममा राहत कोषमा हालसम्म ८ अर्ब रुपैयाँ सङ्कलन भएको र त्यसमध्ये १ अर्बभन्दा बढी रकम विपद् व्यवस्थापन प्राधिकरणलाई तथा ६ करोड रुपैयाँ प्रभावित पालिकाहरुलाई पठाइसकिएको छ।

 

सरकारले हालसम्म गरेको उद्धार र राहतको कामलाई ‘सन्तोषजनक’ ठहर गर्दै बैठकले धन्यवाद दिएको उनको जिकिर छ । यद्यपि, खोजी र राहत कार्यलाई अझै निरन्तरता दिँदै थप प्रभावकारी बनाउनुपर्ने निर्णय पार्टीले गरेको छ । सरकार अगाडि बढ्ने कुरामा रास्वपा पूर्ण साथमा रहेको प्रतिबद्धता सभापति रवि लामिछानेले बैठकमा व्यक्त गरे।

पार्टीलाई विश्वास गरेर विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त भएका राहत सामग्रीहरुलाई रास्वपाले आफ्नै ढङ्गले वितरण नगरी सरकारी संयन्त्रमार्फत पठाउने नीति लिएको छ । पार्टी कार्यालयमा सङ्कलित राहतलाई सरकारी सङ्कलन केन्द्रहरुमा पठाउने कार्य जारी छ र रास्वपाले यसमा केवल ‘हुलाकी’को भूमिका निर्वाह गरिरहेको छ ।

बैठकमा सभापति लामिछानेले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि दीर्घकालीन राजनीतिक र राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका थिए। उनले सर्वदलीय बैठकको महत्त्व औँल्याउँदै सबै दल मिलेर दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएका थिए।

महाधिवेशनपछि पहिलो पटक बसेको सचिवालय बैठकले केन्द्रीय समिति र विभिन्न विभागहरुको आन्तरिक प्रक्रियाबारे पनि बैठकमा छलफल भएको खरेलले जानकारी दिए।