भोटेकोशी बाढीपछि संयुक्त राष्ट्रसंघले माग्यो ५ करोड डलर सहायता

 

काठमाडौँ, १९ भदौ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकलाई जीवनरक्षक सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ र मानवीय सहायताका साझेदार निकायले ४ करोड ९६ लाख अमेरिकी डलर बराबरको आकस्मिक अपिल सार्वजनिक गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को नेतृत्वमा तयार पारिएको चारमहिने योजनाले ८४ हजारभन्दा बढी प्रभावित नागरिकका तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

अपिलअन्तर्गत प्रभावित परिवारलाई नगद सहायता, अस्थायी आवास सामग्री, सौर्य उपकरण, खानेपानी तथा सरसफाइ सामग्री, स्वास्थ्य तथा पोषण सहयोग उपलब्ध गराइनेछ । परिवारबाट छुट्टिएका बालबालिकाको संरक्षण तथा पुनर्मिलन, आकस्मिक खाद्य सहायता र पशुधन संरक्षणलाई समेत प्राथमिकता दिइएको छ ।

भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढी र त्यसपछि भएको पहिरोबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो क्षति भएको छ । बाढीका कारण सडक तथा यातायात, विद्युत्, खानेपानी र सरसफाइका संरचनामा क्षति पुगेपछि दुर्गम क्षेत्रका बासिन्दा आधारभूत सेवाबाट समेत प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले बाढी तथा पहिरोका कारण प्रभावित परिवारले छोटो समयमै आफन्त, घर र जीविकोपार्जन गुमाएको बताउँदै हिउँद सुरु हुनुअघि दुर्गम बस्तीमा ओत, उपचार, सफा पानी र नगद सहयोग पुर्‍याउनु अपिलको मुख्य प्राथमिकता रहेको बताएकी छन् ।

स्थानीय बजार सञ्चालनमा रहेका क्षेत्रमा नगद सहायता उपलब्ध गराउने योजनाले प्रभावित परिवारलाई आफ्ना आवश्यकता आफैँ पूरा गर्न सहयोग पुग्ने र स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ ।