भेरीकरिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डमा सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै सडक पुनः सञ्चालनमा आएको डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए।
करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ छिप्रेदहमा आइतबार बिहान करिब साढे ८ बजे सुख्खा पहिरो खसेको थियो । पहिरोका कारण यातायात सेवा ठप्प हुँदा डोल्पाबाट बाहिरिने तथा भित्रिने सवारीसाधन छिप्रेदहमै रोकिएका थिए।
सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् । सडक सञ्चालनमा आए पनि सडकखण्डमा पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह समेत गरेको छ।


















