कांग्रेस एकताका लागि त्याग गर्न तयार छु : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन आफूले आवश्यक त्याग गर्न तयार रहेको बताएका छन्। सभापति गगन थापासँग भएको भेटमा कोइरालाले पछिल्लो समय मुलुक, लोकतन्त्र र राष्ट्रियता चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै कांग्रेसभित्रको एकता थप मजबुत बनाउनुपर्नेमा जोड दिएका हुन्। उनले पार्टीभित्रको मतभेदलाई निरन्तरता दिनुभन्दा एकढिक्का भएर अघि बढ्नु अहिलेको आवश्यकता भएको धारणा राखेका थिए। पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने जुनसुकै त्याग गर्न पनि आफू तयार रहेको कोइरालाले स्पष्ट पारेका छन्।

कोइरालाको भनाइ उद्धृत गर्दै उनको सचिवालयले पार्टी एकताका लागि आफू प्रतिबद्ध रहेको जनाएको छ। जवाफमा सभापति थापाले पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएका थिए। भेटमा कांग्रेसभित्र देखिएका आन्तरिक समस्या समाधान गर्ने विषयमा दुई नेताबीच छलफल भएको थियो।

त्यसैगरी, बैठकमा बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे पनि कुराकानी भएको थियो। रसुवा, नुवाकोट र धादिङमा बाढीपछि उत्पन्न परिस्थितिका विषयमा समेत दुई नेताबीच जानकारी आदानप्रदान भएको बताइएको छ।