नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए । उनले विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दाबी गरे । विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने उनको भनाइ छ ।
लेखकले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै १४ औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको बताए । त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने चिन्ता भए आफ्नो पक्षबाट आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सक्ने विकल्पसमेत आफूहरूले दिएको उनले बताए ।
निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न तथा आफ्नो बहुमत राख्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको लेखकले बताए । ‘हामीले गगन जीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,’ उनले भने । पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै लेखकले अहिले पनि पार्टी मिलाउने सम्भावना रहेको बताए ।
उनले भने, ‘अहिले पनि उपाय छ । आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ । यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ ।’ अदालतको फैसला कुरेर अघि बढ्नुपर्ने धारणा पनि लेखकले राखे ।


















