सुदूरपश्चिममा भारी वर्षा, जनजीवन प्रभावित

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा लगातार भइरहेको भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासन तथा सरोकारवाला निकायले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार डडेल्धुरा र कञ्चनपुरमा सबैभन्दा बढी वर्षा भएको छ । कञ्चनपुरको हनुमाननगर स्टेसनमा १४१.४ मिलिमिटर र डडेल्धुराको गाईबान्ने स्टेसनमा १२७.८ मिलिमिटर वर्षा मापन भएको छ । २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा मानिन्छ ।

लगातारको वर्षाका कारण सबैभन्दा बढी बाजुराको जनजीवन प्रभावित भएको छ । बाढी र पहिरोले जिल्लाका दर्जनौँ घरमा क्षति पुर्‍याउनुका साथै यातायात र विद्युत् सेवा प्रभावित बनाएको जिल्ला प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहराले जानकारी दिइन् ।

उनका अनुसार गौमुल गाउँपालिका तथा बडीमालिकामा वर्षाले बढी क्षति पुर्‍याएको छ । जिल्ला सदरमुकाम जोड्ने साँफे-मार्तडी सडक अवरुद्ध भएको छ ।
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिममा आगामी तीन दिनसम्म वर्षाको सम्भावना कायमै छ ।