बसन्तपुरमा लिङ्गो ठड्याएर सुरु भयो इन्द्रजात्रा

काठमाडौंको बसन्तपुर दरबार स्क्वायरबाट धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको छ । भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर सुरु हुने यो जात्रा आठ दिनसम्म नाचगान, रथयात्रा तथा देवीदेवताको पूजाआजासहित मनाइन्छ ।

इन्द्रध्वजोत्थानपछि लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परा छ । जात्राका क्रममा लाखे, पुलुकिसी, महाकालीलगायत विभिन्न नाच प्रदर्शन गरिन्छ भने कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिन्छ।

इन्द्रजात्रा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेवारी समुदायले विशेष उत्साहका साथ मनाउने प्रमुख सांस्कृतिक पर्व हो। जात्राको आठौँ दिन इन्द्रध्वज पातन गरेपछि पर्व सम्पन्न हुन्छ।