परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आज सयुक्त राज्य अमेरिकाको न्यु योर्कमा भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनासकारी भोटेकोसी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।
भेटमा दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धका विविधपक्ष तथा आपसी हितका विषयमा विचार आदानप्रदान गरेको मन्त्री खनालको सचिवालयले जनाएको छ । उनीहरूले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने विषयमा जोड दिएका थिए ।


















