रुसले नेपालसहित ४७ देशका नागरिकलाई युद्धमा प्रयोग गरिरहेको जेलेन्स्कीको आरोप

रुसले युक्रेनविरुद्धको युद्धमा नेपाली र भारतीय सहित ४७ देशका नागरिकलाई छल तथा प्रलोभनमार्फत भर्ती गरेर प्रयोग गरिरहेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् ।

बुधबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले विभिन्न देशका नागरिकलाई भर्ती गरेर रणभूमिमा खटाइरहेको र उनीहरूमध्ये कतिपयले युद्धमा ज्यान गुमाइरहेको बताएका छन् । उनले अन्य देशलाई आफ्ना नागरिकहरूलाई यस्तो प्रक्रियाबाट युद्धमा तानिनबाट रोक्न आग्रहसमेत गरेका छन् ।

‘हामीलाई थाहा छ कि रुसले आफ्नो युद्धमा ४७ देशका नागरिकहरूलाई प्रयोग गरिरहेको छ । नेपाल, भारत, घाना, ताजाकिस्तान, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान, दक्षिण अफ्रिका र अन्य धेरै देशहरूका मानिसहरु छन् । हामीले रणभूमिमा रुसीबाहेकका अन्य मानिसहरू मरेको पनि देखिरहेका छौँ । तपाईंका देशका, ती ४७ देशका मानिसहरू, जो छल र कपटपूर्ण प्रपञ्चमा परेर रुस पुगेका थिए,’जेलेन्स्कीले भने ।

जेलेन्स्कीले रुसलाई युद्ध जारी राख्ने क्षमता कमजोर बनाउन थप कडा उपाय अपनाउनुपर्ने आह्वानसमेत गरेका छन् ।