चतुर्मास विशेष पर्व, सुतलमा श्रीहरिले बलि दरबारमा आपूm ढोके भएर रहेको, सुकला, कोल्टे फेर्ने चतुर्मासको मध्यान्तर हरिपरिवर्तिनी एकादशी जसले जयन्ती एकादशीको नामले प्रसिद्धि पाएको छ, यही ६ गते र जसले दानवीर बलिलाई सहजै नियन्त्रणमा लिएका उनै श्रीहरि जसले वामन अवतार लिएर ब्रह्माण्डकै दिग्विजय गरिरहेको हिरण्यकशिपु पुत्र, प्रह्लादको छोरा, विरोचनको पुत्र बलिबाट त्रिलोक खोस्न सफल भएको अवतारी वामनरुप, वामन जयन्ती यसकै भोलिपल्ट जसलाई वामन द्वादशी भनियो आश्विन ७ गते रह्यो । यसै दिन काष्टमण्डपमा इन्द्रध्वजोत्थान समेत परेर देशकै गौरव झल्काएको छ । भोलिपल्ट विशेष प्रदोष व्रत पर्दै त्यसकै भोलिपल्ट स्वर्गका राजा इन्द्रको विशेष उत्सव गरिने इन्द्रजात्रा र जिउँदो देवीको विशेष उत्सव गरिने कुमारी यात्रा हिजो ९ गते, अनि कहिल्यै अन्त्य नहुने ईश्वरको महिमा गायन अनन्त चतुर्दशी पर्वले पनि हिजै शोभित भएको र आज इन्द्रदहमा विशेष स्नान गरिने पर्व काठमाडौँको दहचोक डाँडोमा रहेको सन्दर्भले भाद्र शुक्ल यो पक्षलाई विशेष धार्मिक र आध्यात्मिक दृष्टिले सजाएको देखिन्छ । आज पूर्णिमा व्रत पनि। खासगरी जन जनले पूर्णिमा व्रत राख्नाले चन्द्रमा प्रसन्न रही मनलाई शान्ति दिने र अटल सौभाग्यका साथमा सबैतिर श्रीवृद्धि हुने हुन्छ ।
अनन्त चतुर्दशी भाद्र शुक्ल चतुर्दशीका दिनको नामले चिनिने यस दिन काठमाडौँमा सरकारी स्तरबाटै यो पर्व मनाइन्छ । युगादि नाम फरक भए पनि हालको कलियुगमा न्यायेन पाल्यते इति नेपालः न्यायले नागरिकको रक्षा हुने अर्थमा यो देशको नाम नेपाल रहेको हो । विभिन्न पुराण एवं बंशावलीको अध्ययन गर्दा नेपाल खासगरी काठमाडौँ उपत्यकाको विशद् चर्चा भएको भेटिन्छ । भाद्र शुक्लपक्षका पछिल्ला ३ दिनहरु इन्द्रध्वजोत्थान, अनन्त चतुर्दशी, कुमारी यात्रा आदिले प्रसिद्धि पाएको छ । हाम्रो आदिम स्रोत त वेद नै हो । वेद मध्ये ऋग्वेदका अधिकाँश ऋचाहरुले देवताका राजा इन्द्रका प्रशस्तिहरु गाएका छन् । असत्यका प्रतीक असुरहरुसँग इन्द्रले युद्ध गरेको र श्रीविष्णुले युद्ध जित्न ध्वजा दिएको, त्यो ध्वजाको नाम इन्द्रध्वजा रहेको, इन्द्रले युद्ध जित्दा त्यही ध्वजा प्रयोग गरेको, विजयी भएको र उत्सवको रुपमा चलन चल्तीमा रहेको इन्द्रध्वजोत्सव अहिलेसम्म काठमाडौँमा पर्वकै रुपमा मानिँदैछ ।
देवताका राजा इन्द्रको प्रशंसा गर्दै जसले इन्द्रध्वजोत्सव मनाउँछन् त्यहाँ त्यो क्षेत्रमा वर्षा सहज हुने, कृषि, गोरक्षा पर्याप्त हुने, महामारी, अनिकाल नहुने र अभयी हुने भनी प्राचीनकालदेखि नै काठमाडौँमा इन्द्रउत्सव गरिँदै आएको चर्चा विष्णुधर्मोत्तर ग्रन्थमा छ । प्रतापमल्लको शिलालेख हेर्दा पनि सो कुराको पुष्टि हुन्छ भने इन्द्रध्वजोत्सव पर्वलाई नै इन्द्रजात्राको रुप दिइएको हो । भाद्र शुक्ल द्वादशीदेखि नै यो जात्रा शुरु हुन्छ । लिँगो ठड्याउँने जात्राको नामले परिचित यसका लागि काभ्रेको सल्लाघारीबाट ७ दिन अघि नै घटीमा ३३ र बढीमा ६३ फिटसम्मको सोझो रुख काटेर ल्याइन्छ । लिँगो काट्नुअघि पशुवलि दिइने र पहिलो दिन त्यो रुखलाई भक्तपुरको थिमी र अर्को दिन काठमाडौँको भोटाहिटीमा राखी द्वादशीका दिन भने हनुमान ढोकामा लगिन्छ, रातो कपडाले बेर्दै श्रृँगार, घण्ट, चमर राख्दै हर्ष बढाइँ गर्दै बाजा गाजाका साथ त्यहाँ विधिपूर्वक लिँगो ठड्याइन्छ । रातमा इन्द्रचोकमा रहेका आकाश भैरवलाई भव्य सजाएर राखिएको मूर्तिलाई झिलिमिली बत्ती र राम्रो सजावटका साथ ल्याएर त्यहीँ राखिन्छ । धेरै पहिले काठमाडौँमा किराँती राजा यलम्बर थिए । द्वापर युगमा कौरव र पाण्डव सेना वीच महाभारतको युद्ध भयो, १८ दिनसम्म । महाभारतमा श्रीकृष्णले युद्ध जित्न काठमाडौँको किरातेश्वर, कैलाशक्षेत्रमा आई श्रीपशुपतिनाथलाई खुसी गराई पाशुपत अश्त्र लिन अर्जुनलाई भने, र उनले लगे यो अश्त्र । छिमेकमा युद्ध हुँदा यहाँका यलम्बर पनि चूप बस्न सकेनन्, दैवी शक्ति पनि रहेकाले जुन पक्ष कमजोर हुन्छ त्यो पक्षको साथ दिन्छु भनी उनले घोषणा गरे । महाभारतमा पाण्डवलाई विजय गराउनु थियो । श्रीकृष्णले पाण्डव पक्षलाई साथ दिएका दिए । राजा यलम्बर भने कौरवतिर लागे । विरोधीसँग लागेको भन्दै श्रीकृष्णले सुदर्शन चक्र प्रहार गरी यलम्बरको घाँटी छिनाले । शिर उछिट्टिएर आकाशतिर गयो र युद्ध भने हेरिनै रह्यो । युद्ध सकियो, यलम्बरको शिरभाग काठमाडौँमै झर्यो आकाशबाट झरेको बलियो मूर्ति भैरवको रुपमा, काठमाडौँबासीले उनको शिरभागलाई पूजा गरे, आकाशभैरवको मूर्ति भनी स्थापना गरे,अहिले पनि उनको पूजा हुँदैछ, भव्य मन्दिर सजिएको छ, यहाँ !
आसुरी शक्तिको अन्त्य र दैवी शक्तिको उदयस्वरुप मनाइने इन्द्र जात्रालाई अहिलेसम्म राष्टिृय पर्वको रुपमा हेर्ने चलन छ । शाह बंशीय राजाहरु त्यहाँ आमन्त्रित हुन्थे र इन्द्रजात्रामा, कुमारी, आकाश भैरव, बटुक भैरवको दर्शन गर्थे । हाल पनि राष्टृ प्रमुखसमेतको उपस्थितिमा यो पर्व मनाउने गरिएको छ । काठमाडौँका अन्तिम मल्ल राजा इन्द्रजात्रा महोत्सवमा लागेकै बेला पारी गोरखाका पृथ्वीनारायण शाहले हनुमान ढोकालाई ३ तिरबाट घेरा हाली कब्जा गरेका थिए । पृथ्वी नारायणले यो जात्रा परम्परालाई निरन्तरता दिए । इन्द्रजात्रामा कुमारी घरमा रहेकी कुमारीलाई पनि झकिझकाउ पारेर हनुमान ढोकामै राखिन्छ । अघिल्लो दिन त्रयोदशीदेखि भव्यरुपमा शुरु हुने यो जात्रा भोलिपल्ट चतुर्दशीका दिन उत्कर्षमा पुग्छ, रमाइलो हुन्छ रथ तान्ने र घुमाउने गरिन्छ । जीवित देवीलाई कुमारी मान्ने बौद्ध परम्परा पनि हो, यसबाट पहिलेदेखि नै नेपालमा हिन्दु, बौद्धमार्गीहरुको सामीप्यताको पुष्टि पनि हुन्छ । कुमारी भने शाक्य कुलबाट छनौट गरिन्छ । गणेश, भैरवको मूर्ति कलात्मक रथमा राखी जात्रा मनाइन्छ, यो क्रम ३ दिनसम्म चलिरहन्छ पछिल्लो दिन प्रसाद वितरण भई जात्रा सकिन्छ ।
कुमारीलाई जिवित देवीका रुपमा लिइन्छ । पहिलेका राजाहरु धार्मिक थिए र दैवी शक्तिसँग सिधै कुरा गर्न सक्थे । भक्तपुरमा राजा थिए जगज्योतिमल्ल, उनी त्रैलोक्य मल्लका छोरा थिए । भक्तपुरकी प्रसिद्ध देवी हुन् तुलजा भवानी । अहिले पनि तुलजाको भव्य मन्दिर छ,त्यहाँ हरेक दशैँमा विशेष पूजा हुन्छ, जमरा प्रसाद लगाउने चलन शाहबंशीय राजाहरुले कायमै राखे । जगज्योति मल्लसँग खुसी भएकी तुलजा भवानी स्त्रीरुप लिएर पासा खेल्न आउँथिन् । अलौकिक शक्ति जस्तो लागेर मानिसहरुले बढी नियाल्न थाले, त्यो क्ुरा उनलाई थाहा हुँदा उनले अब यसरी पाशा खेल्न नआउने र मलाई तिमीले नदेख्ने भयौ अब, देख्ने इच्छा भए कुनै शुद्र छोरी ल्याई पूजा गर्नू म उनैसँग रहेकी हुन्छु भनी सपनामा भनिन् । राजकुमार खिन्न भए, तर तुलजाकै रुप प्रत्यक्ष देखिने भनेपछि कुमारी पूजा प्रथाको शुरुवात गरिदिए । अहिले पनि हरेक देवी मन्दिरहरुमा अष्टमातृका भनौँ माहेश्वरी, ब्रह्मायणी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी, महालक्ष्मी, चामुण्डाका मूर्तिहरु देखिन्छन्, यी कुमारीकै प्रतिमूर्तिहरु हुन् ।
अघि एक मल्ल राजासँग हीराको यन्त्र थियो, राजाले त्यो यन्त्रको भव्य पूजा गर्ने गर्थे । त्यो यन्त्रध्वनिकै भरमा देवी देवतासंग प्रत्यक्ष कुराकानी हुन्थ्यो । विशेष किसिमको त्यसलाई कुनै स्त्रीलाई नदेखाउनु भनिएको थियो, राजाले दरबारका सबैलाई त्यो यन्त्र नहेर्नु भनेका । राजाकी छोरीले उत्सुकताले त्यो यन्त्र हेरिन्, त्यसै दिनदेखि राजा देवीसँग वार्ता गर्न नसक्ने भए । राजालाई शोक परेको देखेर देवीले सपनामा भनिन् अबदेखि कुनै शाक्यकुलकी कन्यालाई भक्तिपूर्वक कुमारी मानेर पूजा गर म त्यही कुमारीकै रुपमा भइरहनेछु । राजाले त्सै गरे, कुमारीको रथ जात्राको चलन चलाए । बसन्तपुरस्थित कुमारीघरको निर्माणको श्रेय पाउने र कुमारी रथ जात्रा शुरु गराउनेमा परे जयप्रकाश मल्ल ! वि सं १८०३ देखि ४ वर्ष उनी गद्दीबाट हटाइए, पछि उनले कुमारीको दर्शन पाएर गुमेको राजगद्दी फिर्ता पाए । तर गद्दी पाएको लामो समयपछि पनि कुमारीप्रति उनले केही काम गरेनन् । उनको विस्वास परिक्षा गर्न एक मानिसमा प्रवेश गरी कुमारी दरबार गइछन् । राजाले चिनेनन्, गएकालाई मार्न लगाए उल्टै । सपनामा कुमारीले भनिन्, म बेखुसी भएँ, तिमीले चिनेनौ, अब तिम्रो राज्य खोसिने छ । कुमारीको रथ, घर, जात्रा सबै उनले चलाए तर केही समयपछि इन्द्रजात्राकै दिन जयप्रकाश मल्ल राज्यच्यूत भए । पृथ्वीनारायण शाहले काठमाडौँ हात लगाए र यो चलन अहिले पनि ताजै छ । पहिलो दिनको जात्रालाई कोनेपा भनिदै गद्दी वैठकबाट रथ निकालिन्छ जैसिदेवल, लगन, भीमसेनस्थान हुँदै रथ हनुमानढोका फर्काइन्छ । दोस्रो दिनलाई थनेपा भनिदै गद्दी वैठकबाट रथ निकाली नरदेवी, बाँगेमुडा, असन, इन्द्रचोक हुँदै फर्काइन्छ । तेस्रो दिनलाई नानीचा जात्रा भनिदै राजाकी एक रानीको नाम नानीचा भएकीले उनका माइतीबाट पनि रथ जात्रा गर्ने प्रस्तावअनुसार यो जात्रा निकाल्न थालियो । तेस्रो दिनमा भने कुमारी जात्रा विसर्जित हुन्छ । देशकै गौरव र मौलिकताहरु हुन् यी हाम्रा, यस्ता जात्राहरु हेर्न नियाल्न खोज अनुसन्धान गर्न विदेशीहरु पनि यहाँ धेरै आउने गरेका छन् ।


















