खोला किनारका बस्ती व्यवस्थापन गर्नुपर्ने रास्वपाका मुख्य सचेतक बुर्लाकोटीको भनाइ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले बाढीको जोखिम न्यूनीकरण गर्न खोला किनारमा रहेका बस्तीको समयमै व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भोटेकोशीमा भदौ १० र असोज १० तथा ११ गते आएको बाढीले नदी किनारका बस्तीको जोखिमबारे सबैलाई सचेत गराएको बताए । खोला किनारका बस्ती हटाउने सरकारको कदमको विगतमा आलोचना भए पनि पछिल्ला बाढीका घटनाले त्यस्ता बस्ती व्यवस्थापनको आवश्यकता देखाएको उनको भनाइ थियो ।

बस्ती हटाउने क्रममा व्यवस्थापनमा केही कमजोरी भएको हुन सक्ने स्वीकार्दै उनले त्यसलाई सुधार्नुपर्ने बताए । बुर्लाकोटीले अझै धेरै नदी किनारमा बस्ती रहेकाले समयमै व्यवस्थापन गर्न नसके ठूलो जोखिम निम्तिन सक्ने चेतावनी दिए । उनले बाढीको जोखिमसँगै पुल निर्माणको अवस्थाबारे पनि पुनर्मूल्यांकन गर्नुपर्ने बताए ।

उनका अनुसार कमिसनको प्रभावमा पुलहरू आवश्यकताभन्दा तल निर्माण गरिएको हुन सक्ने भन्दै पूर्वाधार निर्माणका कामको समीक्षा गरेर अघि बढ्न आवश्यक छ ।