एलपी ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्ने निगमको निर्णयलाई महासंघको समर्थन

नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणमा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न दिएको निर्देशनको ग्यास विक्रेता महासंघ नेपालले स्वागत गरेको छ । महासंघले बुधबार विज्ञप्ति जारी गर्दै ग्यासको कारोबारलाई पारदर्शी, व्यवस्थित र सुरक्षित बनाउन निगमले चालेको कदम सकारात्मक रहेको जनाएको हो । निगमको एलपी ग्यास तथा एभिएसन विभागले गत ९ कात्तिकमा सम्पूर्ण ग्यास उद्योगलाई पत्राचार गर्दै बिक्रेतामार्फत उपभोक्तालाई अनिवार्य रूपमा बिल बिजक उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिल नदिएको गुनासो बढेपछि निगमले यस्तो व्यवस्था कार्यान्वयन गर्न खोजेको हो ।

महासंघका अनुसार ग्यासको कारोबार व्यवस्थित बनाउन यसअघि पनि निगमलाई विभिन्न सुझाव दिँदै बिल बिजक जारी गर्ने व्यवस्था प्रभावकारी बनाउन आग्रह गरिँदै आएको थियो । बिक्री वितरणमा अनिवार्य बिलको व्यवस्था लागू हुनु यस क्षेत्रको सुधारका लागि कोशेढुङ्गा साबित हुने महासंघको विश्वास छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न सम्पूर्ण ग्यास व्यवसायीलाई आग्रह गरेका छन् । उनले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग अनिवार्य रूपमा बिल वा बीजक मागेर लिने बानी बसाल्न अनुरोध गरेका छन् । महासंघले बिल बिजक जारी गर्ने अभ्यासले ग्यासको कारोबारमा पारदर्शिता बढाउनुका साथै उपभोक्ताको अधिकार संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरेको छ ।