बाबुराम भट्टराईद्वारा धर्मरत्न यमिका उपन्यासमा नारीपात्रबारे अनुसन्धानात्मक पुस्तक विमोचन

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लेखक रामेश्वर श्रेष्ठ (ह्याउँनिभाः) द्वारा लिखित ‘धर्मरत्न यमिया उपन्यासय् नारीपात्र’ नामक अनुसन्धानात्मक पुस्तक विमोचन गरेका छन्। धर्महिरा स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो।

काठमाडौंमा मंसिर ४ गते आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा विशेष अतिथि प्रा. डा. ओमकारेश्वर श्रेष्ठ, नेवाः देय् दबूका अध्यक्ष रश्मिला प्रजापति र नेपालभाषा केन्द्रीय विभागका प्रमुख उपप्रा. डा. बज्रमुनि बज्राचार्यले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए।

पुस्तक लेखक रामेश्वर श्रेष्ठको स्नातकोत्तर तहको शोधपत्रमा आधारित छ। यसमा साहित्यकार तथा समाज परिवर्तनका अभियन्ता धर्मरत्न यमिका लिथु, भृकुटी र आङल्हामु उपन्यासमा चित्रित नारी पात्रहरूको पात्रविधान तथा विश्लेषण समेटिएको छ। पुस्तकले यमिको साहित्यिक योगदान, सामाजिक चेतना र समाज रूपान्तरणमा उनको भूमिकालाई उजागर गर्ने प्रयास गरेको छ।

पुस्तकको समीक्षा नेपालभाषाका अध्यापक अनुप सिं सुवालले गरेका थिए। उनले शोधप्रबन्धलाई पुस्तकका रूपमा प्रकाशित गर्दा शोधप्रबन्ध र पुस्तकबीच हुने भिन्नताबारे चर्चा गर्दै उपन्यासका नारी पात्रहरूको चित्रणमाथि लेखकले गरेको आलोचनात्मक समीक्षा प्रशंसनीय रहेको बताए। शोधप्रबन्धका रूपमा केही प्राविधिक तथा सैद्धान्तिक कमजोरी भए पनि पुस्तकका रूपमा प्रस्तुत समालोचना उत्कृष्ट रहेको उनको भनाइ थियो।

नेपालभाषा केन्द्रीय विभागका प्रमुख उपप्रा. डा. बज्रमुनि बज्राचार्यले पुस्तकमा धर्मरत्न यमिको व्यक्तित्व र कृतित्वबारे चर्चा गरिएको उल्लेख गर्दै साहित्य अध्ययन गर्दा लेखकको व्यक्तित्वसमेत बुझ्नुपर्ने धारणा राखे।

नेवाः देय् दबूका अध्यक्ष रश्मिला प्रजापतिले पुस्तक अध्ययनबाट धर्मरत्न यमिलाई थप बुझ्न सहयोग पुगेको बताउँदै नारी पात्रहरूको चर्चासँगै नारीवादी दृष्टिकोणबाट पनि समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याइन्।

प्रा. डा. ओमकारेश्वर श्रेष्ठले पुस्तकमा पात्रविधानको चर्चा भए पनि पात्र विवरणमा बढी केन्द्रित भएको टिप्पणी गरे। पात्रहरूको विवरणसँगै चरित्रचित्रण तथा उपन्यासको परिवेशबारे थप विश्लेषण आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले धर्मरत्न यमिको व्यक्तित्वबारे चर्चा गर्दै नेपाल बहुधार्मिक तथा बहुसांस्कृतिक देश भएको बताए। लोकतान्त्रिक व्यवस्थामार्फत मात्रै नेपालको समृद्धि सम्भव हुने उल्लेख गर्दै जातीय, भाषिक तथा आर्थिक विभेद अन्त्य नगरी देशको विकास हुन नसक्ने धारणा राखे।

कार्यक्रममा शोभा ताम्राकार र न्हुछेशोभा तुलाधरले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सभापतित्व धर्महिरा स्मृति प्रतिष्ठानका अध्यक्ष तिमिला यमि थापाले गरेकी थिइन् भने सञ्चालन मानुषि यमि भट्टराईले गरेकी थिइन्। कार्यक्रममा धर्मरत्न यमिकी सुपुत्री हिसिला यमीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा परिवारका सदस्य, साहित्यकार, भाषाविद् तथा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। छोरी तथा ज्वाइँहरू प्रहलाद मानन्धर, डा. केसरी मानन्धर, प्रा. तिमिला यमी, डा. धर्मराज भण्डारी र मदनराज भण्डारीलगायत सहभागी थिए।

पुस्तक विमोचन कार्यक्रम नेपालभाषाको साहित्यिक विरासत संरक्षण, मौलिक साहित्यको अध्ययन तथा नयाँ पुस्तामाझ साहित्यिक अनुसन्धानको महत्त्व स्थापित गर्ने अवसरका रूपमा लिइएको छ