रास्वपालाई सत्तारुढ दलहरुको चेतावनी

सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न रास्वपालाई चेतावनी दिएको छ । बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेका बेला भिड जम्मा गरेर न्यायिक निरूपणमा बाधा नपुर्‍याउन चेतावनी दिएका छन् ।

कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छन्। जसपा नेपाल र जनमत पार्टीले सरकारलाई समर्थन गरेको छ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्नु लोकतान्त्रिक दृष्टिकोणले पनि उचित होइन ।’फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको सत्तारुढ दलहरुको निष्कर्ष छ ।

उनले नेपालको लोकतान्त्रिक प्रक्रियामा यस्तो गलत प्रक्रिया कहिल्यै प्रयोग नभएको भन्दै नयाँ भनिएका राजनीतिक दल त्यसमा पनि रास्वपाले जुन प्रकारको संस्कार प्रस्तुत गरेको छ त्यसले लोकतन्त्रलाई डिरेल बनाउने खतरा रहने बताए ।

उनले छानबिन प्रक्रियामा सत्तापक्षको कुनै आग्रह नरहेको भन्दै अदालतले सबैका कुरा सुनेर निष्कर्ष दिनेमा आफू विश्वस्त रहेको भन्दै रास्वपाको गतिविधिविरुद्ध सत्तारुढ सबै दलले आ-आफ्नो तर्फबाट वक्तव्य दिने समझदारी समेत भएको जानकारी दिए ।