हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले अध्ययन अनुसन्धानका आधारमा सरकारले विकासका योजना तयार गर्नुपर्ने बताएका छन्। उनले अनुसन्धान विना नै विकास आयोजना कार्यान्वयन गर्दा सरकारको खर्च बढी र उपयोगिता कम भइरहेको बताए ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको वार्षिक समीक्षा गोष्ठीको समापन सत्रमा बोल्दै मुख्यमन्त्री लामाले प्रदेशको आवश्यकता र विकासको योजनामाथि तादम्यता कायम गर्न अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने बताए । मन्त्रालय र मातहतका निकायले वार्षिक तथ्यांक संकलन गरेर योजना निर्माण गर्दा उपलब्धि न्यून हुनेगरी काम भइरहेको उनको भनाई छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरूले पनि अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने उनले बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उद्धेश्य अनुसार स्वास्थ्य क्षेत्रका विभिन्न विषय अध्ययन गरी सेवा प्रवाह तथा अन्य उत्पादनमा अग्रसर हुनुपर्ने उनले बताए । सेवा प्रवाह र विकासका क्षेत्रमा सरकारको निरन्तर प्रयासका बाबजुद पनि नागरिकहरूमा नकारात्मक असर देखिएकाले प्रदेश सरकारका निकायका ध्यान त्यसतर्फ केन्द्रित गर्नुपर्ने उनले बताए । नागरिकहरूको गुनासो र प्रदेश सरकारको प्रयासमा तादम्यता मिलाउन अनुसन्धान हुन जरुरी रहेको उनले औँल्याए ।
मुख्यमन्त्री लामाले कर्मचारीहरूलाई सफा मानसिकताका साथ काम गर्न निर्देशन दिए । प्रदेश सरकारले स्थायित्वका लागि कर्मचारी व्यवस्थापनको क्षेत्रमा काम गरिरहेकाले उच्च मनोबलका साथ काम गर्न उनले निर्देशन दिए ।
कार्यक्रममा स्वास्थ्यमन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार सक्रियताका साथ अघि बढेको बताए । प्रदेशसभाबाट प्रदेश स्वास्थ्य ऐन पारित भएको र त्यसलाई कार्यान्वयन गरेर स्वास्थ्य क्षेत्रका समस्यहरु हल गर्ने तर्फ मन्त्रालय अघि बढेको मन्त्री थापाले बताए । गुनासो रहित गुणस्तरिय स्वास्थ्य सेवामामा आम नागरिकहरूलाई जोड्न मन्त्री थापाले कर्मचारीहरूलाई निर्देश दिए ।

















