राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शान्तिपूर्ण आन्दोलनमा आफ्नो कार्यकर्ताहरु पक्राउ परेपछि प्रहरीले दमन गरेको बताएको छ ।
पार्टी सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा आज बालुवाटरमा भएको प्रदर्शनका क्रममा आफ्ना नेता कार्यकर्ता पक्राउ परेको बताउँदै रास्वपाले भर्त्सना गरेको छ ।कार्यवहाक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य जारी गर्दै शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा ११ जनालाई प्रहरीले पक्राउ गरेको बताएका छन् ।
‘शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन् लोकतान्त्रिक मूल्य मान्यताको चरम उल्लङ्घन भएको उनले बताएका छन।आजको विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको थियो ।
कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने तयारी थियो ।
१२ बजेदेखि साढे २ बजेसम्म हुने प्रदर्शनको उपसभापति डीपी अर्यालले समापन गर्ने भनिएको थियो । तर, प्रहरीले हस्तक्षेप गरेपछि उनीहरुको पूर्वनिर्धारित कार्यक्रम तालिका प्रभावित भएको छ ।


















