आन्दोलनकारीले पोखरा महानगका नगर प्रहरीको गुप्ताङमा प्रहार

काठमाडौँ । नेकपा एमालेका जनप्रतिनिधिको संलग्नतामा पोखरा महानगरपालिकामा मंगलबार भएको आन्दोलनका क्रममा एक जना नगर प्रहरी घाइते भएका छन् । आन्दोलनकारी र नगर प्रहरीबिच भएको धकेलाधकेलका क्रममा एक जना नगर प्रहरीको गुप्ताङमा प्रहार भएको हो ।
पोखरा महानगर प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाले नगर प्रहरी सन्तबहादुर केसीको गुप्ताङ्गमा प्रहार हुँदा उनी घाइते भएको जानकारी दिए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
‘कसले हान्यो थाहा भएन । खोजी भइरहेको छ । अण्डकोषमा चोट छ । अहिले अस्पतालमा लगेर एक्सरे हुँदैछ’, नगर प्रहरी प्रमुख थापाले बताए ।
करार कर्मचारी हटाउने निर्णयको विरोधमा पोखरा महानगरमा एमालेका जनप्रतिनिधिले धर्नासहित आन्दोलन गरेका हुन् ।
गत कात्तिक १५ गतेको कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेको थियो । सो निर्णयको एमालेले विरोध गर्दै आउँदा महानगरले भने बचाउ गर्दै आएको छ ।