अदालतले दियो लिलाबल्लभमाथि अनुसन्धान गर्न २ दिनको म्याद

नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीले २ दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए। उनलाई परिसरको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन पुगेको थियो।

अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्‍याउन खोजेको आरोप छ। एमाले कोशीले उनलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरिसकेको छ भने शनिबारको सचिवालय बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो। अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए।

अध्यागमनले अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो। डिपोर्ट भएपछि उनले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए।

जापानले डिपोर्ट गरेका तीन जना अहिले प्रहरी हिरासतमा छन्। उनीहरुको बयानका आधारमा प्रहरीले जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पनि सोही अभियोगमा पक्राउ परेका छन्। पक्राउ परेकाहरूले आफूहरूले जापान जानका लागि १० देखि १३ लाख रूपैयाँसम्म बुझेको प्रहरीलाई बताएका छन्।
डिपोर्ट भएका दुई जनाको साथबाट प्रहरीले मन्त्रालयको नक्कली परिचय पत्रसमेत बरामद गरेको थियो। जसमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको नै हस्ताक्षर छ।