नभएका विषयलाई अनावश्यक विवादको मुद्दा नबनाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताएका छन ।
विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी हो भने। प्रधानन्त्री ओलीले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी)को कुनै कुरा वा चर्चा नै नभएको बताए ।
संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उनले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाए। सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने,“नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।”
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौँँ फर्किएका थिए ।