एमालेको जागरण सभा र नाङ्गा वादशाह

ब्याङग

हान्स एन्डरसनद्वारा लिखित बादशाहको नयाँ पोशाक कथा तपाईले पनि पढेको वा सुनेको हुनु पर्दछ । त्यो कथा एकजना सम्राटको विषयमा छ जो सधैँ नयाँ–नयाँ पोशाक लगाउन मन पराउँथे । कथामा बादशाहको त्यही शौखका कारण दुईजना ठगले उनलाई मुर्ख बनाए । वादशाहलाई ती ठगहरूले अहिलेसम्म अरू कसैले सपनामा समेत नदेखेका असाध्यै राम्रो पोशाक तयार गर्न सक्ने दाबी गरेर भने जो आफ्नो पदका लागि अयोग्य छ त्यस्तो मानिसले त्यो पोशाक उसका आँखाले देख्न सक्दैन । यस्तो सुन्ने वित्तिकै वादशाहले आफ्ना लागि पोशाक तयार गर्न आदेश दिइहाले ।

त्यसपछि ती दुईजना ठगहरू कपडा बुनेको, काटेको र सिएको अभिनय गरेर हावामा हात चलाउन थाले । बादशाहले आफ्ना मन्त्रीहरूलाई पोशाक तयार गरिरहेको ठाउँमा पठायो । मन्त्रीहरूले पनि फर्किएर आएपछि हरेक पटक पोशाक आफ्नै आँखाले देखेको र त्यो असाध्यै राम्रो भएको कुरा बताए । वास्तवमा तिनीहरू कसैले केही पनि देखेका थिएनन् तर पनि उनिहरुले पोशाक राम्रो छ भन्न पछि परेनन् किनकि कोही पनि आफ्नो पदका लागि अयोग्य हुन चाँहदैनथे ।

नयाँ कपडा तयार भएको खबरपछि एक दिन बादशाहले एउटा विशेष कार्यक्रमको आयोजना गरेर त्यही समारोहमा नयाँ पोशाक लगाउने तयारी भयो । ठगले बादशाहलाई पुराना सबै पोशाक फुकाल्नका लागि बिन्ती गरे । त्यसपछि तिनीहरूले नयाँ पोशाक लगाउनका लागि बादशाहलाई सघाए जस्तो गरेर यताउती हावामा हात चलाए । बादशाहका नोकरचाकरहरू आफ्नो पदका लागि अयोग्य हुनबाट बच्न चाहन्थे र तिनीहरू सबैले आँखा चिम्लेर नाङ्गो बादशाहको प्रशंसा गरे । मख्ख पर्दै बादशाह नाङ्गै बाहिर निस्किए र विशेष समारोहका बीच अग्रपंक्तिमा बसेर निर्वस्त्र सहर घुम्न लागे।

सडकका दुवै किनारामा लाम लागेर बसेका मानिसहरूले आफ्नो पदको लागि अयोग्य हुनुपर्ला भन्ने डरले सत्य कुरा भन्न सकेनन तर, एक जना बालकले अकस्मात् भन्यो, ‘आच्या !, त्यो मानिसको शरीरमा त एउटा पनि लुगा छैन नि ! किन बुङ्गै हिँडेको हँ ?’त्यस्तै भिडको एक मान्छेले भने ‘त्यति राम्रो बादशाहले नाङ्गै हुनुपर्‍या’ लौ हेर त !’

यस्ता टिप्पणीहरू सुनेपछि बादशाहले भने मेरो नयाँ पोशाकको कति प्रसंशा भएको छ । यसले मेरो राजसी मर्यादा बढाएको छ । तिमीहरू सबैले यसै भनेका होइनौ त ? अबदेखि म सधैँ यिनै पोशाक लगाउने छु र यी बाहेक कुनै पनि पोशाक लगाउने छैन । म नाङ्गै छु भनेर फेरि पनि कुनै मान्छेले भन्यो भने त्यसलाई मृत्युदण्ड दिइने छ र यो नयाँ कानुन तुरून्तै लागू गर।’

अहिले एमाले मूल नेतृत्व कयांै एजेण्डमा नाङ्गो बादशाह बनेको एमाले भित्रै चर्चा छ । एमाले पार्टीको भवन निर्माणको निम्ति व्यापारी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी भवन निर्माण गर्ने कुरा गलत भएको भन्दै केही नेताले बिरोधमा बोले । तर बादशाहको शैलीमा पार्टीको निर्णयविरुद्ध उभिएको भन्दै पूर्व उपाध्यक्ष भिम रावल, स्थायी कमिटि सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोधियो ।

स्थायी कमिटी सदस्य पाण्डेले लेखेकि थिईन–पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो’ दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ, समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गÞलत निर्णय सच्याउनै पर्छ । समयमै सोचौं ।’ त्यस्तै केन्द्रीय सदस्य तिम्सिनाले व्यापारीले बनाइदिएको महलभन्दा आफ्नै पसिनाले सिञ्चित भवन प्यारो हुने बताएकी थिइन् ।

उनले निर्णय फिर्ता लिन अनुरोध गर्दै भनेकी थिइन हामीलाई कुनै व्यापारीले बनाइ दिएको ठूलो महलभन्दा मदननगरमा जति मिल्छ त्यति नै आफ्नो पसिनाले सिञ्चिएको भवन प्यारो र गर्विलो हुनेछ । उता नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङबाट पार्टीले जग्गा दान लिनु गलत भनेकै आधारमा आफूलाई पार्टीले निलम्बनको प्रचार गरेको बताएका छन् । निलम्बनको प्रक्रिया समेत पूरा नगरिएको उनको भनाइ छ ।

पार्टी अनुशासन विपरीत काम गरेको भन्दै उनलाई नेकपा एमाले बाँके जिल्ला कमिटीले निलम्बनको निर्णय गरेको थियो । पार्टीलाई हानिनोक्सानी पुर्याउने मनसाय राखेर सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै मंगलबार पार्टी सदस्यबाट निलम्बन गरिएको पत्र सार्वजनिक भएको थियो ।
चौधरीले भनेका छन्–पार्टी हितकै लागि मैले गलत कुराको आलोचना गर्ने गरेको थिए जायज कुरा नसुन्ने र उल्टो कारवाही गर्दै जाने हो भने एमालेलाई जनताले नै सुधार्न पर्ने टिप्पणी गरे । ‘जनताले सुधार्नु पर्यो भने पार्टीलाई निकै महँगो हुन्छ,’ उनले भने ।

एमाले नेताहरुले भन्छन् बादशाहको नयाँ पोषाक लगाउने कथाका बादशाहले आफूलाई नाङ्गै छ भन्ने सबैलाई गिरफ्तार गर्न आदेश दिए । ती मानिसहरूलाई गिरफ्तार गरी झुन्ड्याएर मार्ने आदेश दिइयो । साँचो कुरा गर्ने मन्त्री विद्वान सज्जनहरु र आमजनता हजारौं मारीए । अहिले एमालेमा त्यसकै झल्को आएको उनीहरुको भनाई छ । साथै उनीहरुको अनुरोध छ त्यसपछि कथाका बादशाहको के हालत भयो त्यो पनि बुझ्नु पर्दछ । कथा धेरै लामो छ तर समापनमा कथाकारले भन्छन् । बादशाह नाङ्गै हिड्न थाले पछि एक दिन जनताले बादशाहलाई नहेर्ने भनि आफ्ना सबै घरका झ्यालढोकाहरू बन्द गरे । घर भित्रै बसे । तर बादशाहले घर भित्र बसेर बादशाह नाङ्गै छन भनेको बाटोमा सुने त्यस पछि बादशाहले जनताका झ्यालढोका फोरेर महिला, केटाकेटी सबैलाई गिरफ्तार गरेर ज–जसले हल्ला मच्चाएका थिए तिनीहरूलाई तुरून्त मृत्युदण्ड दिने आदेश दिए ।

तर चिताउँदै नचिताएको कुरा भयो । पालेहरूले घरका ढोकाहरू फोर्नेबित्तिकै भित्रबाट मान्छेको ओइरो चल्यो । ती मान्छेहरूले बादशाहलाई धक्काउँदै चिथोर्न थाले । तिनीहरूले नाङ्गो बादशाह तँ पर भाग् !’ भन्दै कराउन थाले । उनीहरुले बादशाहको पिठ्युँमा ढ्यापढ्याप धाप मार्दै मादल बजाएझैँ तिनीहरूका हात चलाउन थाले । त्यसरी घेरामा परेको बादशाहले सबै किसिमका सजायहरू खारेज गर्ने बचन दिँदै चिच्यायो, तर उम्कने बाटो अझै फेला परेन । लछारपछार गर्दा बादशाहको होस् गुम्न थाल्यो मन्त्रीहरू जनसमूह सितै मिसिएर कराउन थाले, ‘नाङ्गो बादशाह तँ पर हट् यसपछि बादशाहलाई आफूले टेकेको जमिन डगमगाउन लागेजस्तो लाग्यो र कुनै ठूलो घनले टाउकामा हानेझैँ गरी ऊ एक्कारी भुइँमा पछारियो ।

अहिले एमाले वृत्तमा पनि नाङ्गो वादशाह र एमाले नेतृत्वको प्रसङग चलेको छ । विशेषत: मंसीर ७ गते एमालेको जागरण सभा र जागरण सभाको सन्देशलाई लिएर एमाले वृत्तभै यो प्रसङग चलेको हो । एमालेको मूल नेतृत्व जागरण सभाले सन्देश प्रभाव गरेको स्याल हुईया कराउनमा मक्ख छ भने नेतृत्वको बक्रदृष्टि परेका इमान्दार कार्यकर्ता वादशाहलाई जोगाउन सचेत गराइरहेका छन् । यस्तो परिस्थितिमा एमाले नेतृत्व आत्मरतिमा रमाउने कि आफ्नो इमान्दार कार्यकर्ताको आवाज सुन्ने, फैसला उसैको हो ।