स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि (मौन) अवधि सुरु हुँदैछ ।

मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ ।मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन ।

आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एकरएक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् ।